नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले विभिन्न क्षेत्रहरूमा प्रभाव पारिरहेको भए पनि नर्सिङ पेशाको स्थान भने कहिल्यै नलिनसक्ने नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले बताउनुभएको छ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजित एक विशेष समारोहमा बोल्दै डा. यासमिनले स्वास्थ्य प्रणालीको मेरुदण्ड मानिने नर्सहरूको भूमिकालाई कुनै प्रविधिले विस्थापन गर्न नसक्ने बताउनुभयो।
“नर्सहरू बिरामीका लागि अद्भुत सेवा दिनुहुन्छ। तपाईंहरूको मायालु व्यवहार, सहानुभूति र समर्पण एआईले कहिल्यै प्रतिस्थापन गर्न सक्दैन,” उहाँले भन्नुभयो, “स्वास्थ्य सेवाको समग्र व्यवस्थापनमा तपाईंहरूको योगदान पर्दा पछाडिका नायकजस्तै छ।”
डा. यासमिनले नर्सहरूलाई आमाको उपमा दिँदै बिरामीले पाउने उपचारभन्दा बढी माया र केयर उनीहरूले नर्सबाट पाउने उल्लेख गर्नुभयो। उहाँले भने, “डाक्टरलाई धन्यवाद दिएर फर्किने बिरामीहरूले नर्सलाई पनि उत्तिकै सम्मान दिनुपर्छ।”
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा. डा. मोदनाथ मरहठ्ठाले नर्सिङ पेशामा लागेकाहरूले आफूलाई फ्लोरेन्स नाइटिङ्गलको प्रेरणाबाट अभिप्रेरित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। “आईसीयूजस्तो अवधारणा पनि नाइटिङ्गलकै सोचबाट आएको हो,” उहाँले स्मरण गर्नुभयो।
कलेजका अस्पताल निर्देशक प्रा. डा. निलमणी उपाध्यायले नर्सहरूप्रति समर्पित कविता वाचन गर्दै स्वास्थ्य क्षेत्रमा उनीहरूको अतुलनीय योगदानलाई स्मरण गर्नुभयो। मातृ मृत्युदर, नवजात मृत्युदरमा भएको कमी तथा पोलियो उन्मूलनजस्ता उपलब्धिहरूमा नर्सहरूको सक्रिय सहभागिता रहेको उहाँले उल्लेख गर्नुभयो।
नर्सिङ विभाग प्रमुख (मेट्रोन) नविना सिंहले सरकारले नर्सिङ शिक्षालाई विस्तार र सुदृढीकरणतर्फ प्राथमिकता दिनुपर्ने बताउँदै दक्ष जनशक्ति अभाव टार्न बन्द गरिएका नर्सिङ कलेजहरू पुनः सञ्चालनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो। “नर्सिङ पेशा व्यवसायिक मात्र होइन, यो मानव सेवाभावले भरिएको छ,” उहाँको भनाइ थियो।
समारोहमा कलेजमा १५ वर्षभन्दा बढी सेवा गरेका २९ जना नर्सहरूलाई सम्मान गरिएको थियो। प्रबन्ध निर्देशक डा. यासमिन र अस्पताल निर्देशक डा. उपाध्यायले संयुक्त रूपमा उनीहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा नर्सहरूले सांस्कृतिक प्रस्तुति, गीत, नृत्य तथा नाटकमार्फत नाइटिङ्गलको जीवनी चित्रण गरेका थिए। साथै कलेजमा उपचाररत करिब २०० बिरामीहरूलाई फलफूल वितरण गर्दै सेवा भावलाई अभिव्यक्त गरिएको थियो।
नाइटिङ्गेलको जन्म सन् १८२० मे १२ मा भएको थियो। आधुनिक नर्सिङ प्रणालीको आधारशिला राख्ने यी दयाकी मूर्तिलाई ‘द लेडी विद द ल्याम्प’ को उपाधि दिइएको छ। यस वर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवस “हाम्रा नर्सहरू, हाम्रा भविष्यः नर्सहरूको सेवाले अर्थतन्त्रलाई मजबुत बनाउँछ” भन्ने नारासहित मनाइएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
