नेभिगेशन
गाउँमै सुरक्षित सुत्केरी सेवा – आमा र शिशुको जीवनको सुरक्षा सुनिश्चित

अर्नाकोट बर्थिङ सेन्टर: ग्रामीण महिलाका लागि जीवनरक्षक सेवा

बागलुङको अर्नाकोटमा तीन वर्षदेखि सञ्चालित बर्थिङ सेन्टरले सुत्केरी महिलालाई सुरक्षित सेवा दिँदै जोखिम न्यूनीकरणमा भूमिका खेल्दै

नेपाल हेल्थ न्युज, बागलुङ । निसीखोला गाउँपालिका–२ अर्नाकोटमा स्थापना गरिएको बर्थिङ सेन्टर ग्रामीण महिलाहरूका लागि आशीर्वाद सावित भएको छ। पहिलाजस्तो प्रसूतिको समयमा बुर्तिवाङ अस्पतालसम्म जानुपर्ने बाध्यता अब हटेको छ।

स्थानीय बासिन्दा रमा विकले बताउनुभयो, “सुत्केरी व्यथाले च्याप्दा गाडीमा १० हजारभन्दा बढी खर्च गरेर अस्पताल जानुपर्थ्यो, अहिले घरकै नजिकै सेवा पाउँदा सजिलो भएको छ।” बर्थिङ सेन्टरले महिला तथा परिवारका सदस्यको समय, खर्च र ज्यानको जोखिमसमेत घटाएको छ।

अर्नाकोटको सामुदायिक स्वास्थ्य इकाइअन्तर्गत सञ्चालित बर्थिङ सेन्टर तीन वर्षदेखि सेवा दिइरहेको छ। हरेक वर्ष झन्डै एक दर्जन महिलाले सुरक्षित सुत्केरी सेवा लिइरहेका छन्। जटिल अवस्थाका बिरामीलाई स्वास्थ्यकर्मीले छिटो अस्पताल पठाउने व्यवस्था पनि मिलाइएको छ।

स्वास्थ्य चौकीका अहेब चेतबहादुर कुँवरका अनुसार, “बर्थिङ सेन्टर नहुँदा तीन महिलाको ज्यान घरमै सुत्केरी हुँदा गएको थियो। अहिले त्यो अवस्थाबाट मुक्त हुन सकेका छौं।”

यो केन्द्र कर्मा फ्लाइट फाउन्डेसनको आर्थिक सहयोगमा स्थापना भएको हो। फाउन्डेसनले भवन निर्माणका लागि २० लाख र उपकरण तथा अन्य सहयोगका लागि थप २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो। साथै, फाउन्डेसनले दुई जना स्वास्थ्यकर्मीको व्यवस्थापनमा पनि सहयोग गरेको छ।

दुर्गा कुँवर विक नामक दक्ष प्रसूतिकर्मी सन् २०७६ देखि यही केन्द्रमा कार्यरत हुनुहुन्छ भने चेतबहादुर कुँवरलाई हाल गाउँपालिकाले करारमा राखेको छ। अहिले फाउन्डेसनले प्रसूति प्रतिक्षाघर निर्माणका लागि थप १० लाख लगानी गरिरहेको छ।

अर्नाकोट क्षेत्र र आसपासका करिब ३०० घरधुरीका लागि यो केन्द्र एक महत्वपूर्ण सेवा बनिसकेको छ। स्थानीय नर्मती रसाइलीको भनाइमा, “पहिले धेरै आमाहरू सुत्केरी हुन नसकेर ज्यान गुमाउँथे, अहिले भने गाउँमै सुरक्षित सेवा पाउँदा नयाँ जीवन पाएका छन्।”

पछिल्लो तीन वर्षयता केन्द्रमा घरमै सुत्केरी गराउने परिपाटी अन्त्य भएको छ। अहेब कुँवरका अनुसार, आर्थिक वर्ष २०७८र७९ मा ९ जना, २०७९र८० मा १० जना र गत वर्ष १२ जनाले सेवा लिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट