नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालका दुर्गम तथा सेवा नपुगेका क्षेत्रमा आँखा उपचार सेवा विस्तार गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट डा. कृष्णप्रसाद पौडेल र संघका तर्फबाट महासचिव भरतबहादुर चन्दले हस्ताक्षर गरे।
सम्झौता अनुसार, सेवा नपुगेका भेगहरूमा लक्षित समूहका लागि सहुलियतपूर्ण आँखा उपचार सेवा प्रदान गरिनेछ। मन्त्रालयले संघद्वारा सञ्चालित कार्यक्रमहरूलाई प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सहज बनाउनेछ।
त्यस्तै, मन्त्रालयले नेपालको आँखा उपचार क्षेत्रलाई स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा विकास गर्न सहजीकरण, छात्रवृत्तिमा अध्ययन गरेका जनशक्ति संघअन्तर्गतका अस्पतालमा खटाउने व्यवस्था, तथा भन्सार छुटलगायतका विषयमा प्रचलित नियम अनुसार सहयोग गर्नेछ।
संघले भने आफ्ना आँखा अस्पतालहरूलाई उपचार, अनुसन्धान र शैक्षिक केन्द्रको रूपमा विस्तार गर्नेछ, जसले राष्ट्रिय स्वास्थ्य जनशक्ति रणनीति २०७७–२०८७ अन्तर्गत आँखा स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउनेछ।
कार्यक्रममा नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रले संघले राष्ट्रिय स्वास्थ्य नीति २०७६, स्वास्थ्य क्षेत्र रणनीतिक कार्ययोजना २०७९–२०८७ तथा आँखा स्वास्थ्य रणनीति २०७९ अनुसार कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
संघका महासचिव चन्दले भने, “नेपाल सरकारकै सहयोग र निर्देशनमा गैरसरकारी संस्थाद्वारा सञ्चालित आँखा उपचार सेवाले अहिले विश्वमै नाम कमाएको छ। यो समझदारीले अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”
स्वास्थ्य मन्त्री पौडेलले नेपाली आँखा उपचार सेवा गुणस्तरीय र सुपथ रहेको उल्लेख गर्दै स्वास्थ्य उपचार पर्यटन प्रवर्द्धनमा आँखा सेवा क्षेत्रले निर्णायक योगदान गर्न सक्ने विश्वास व्यक्त गरे।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
