नेभिगेशन

मस्तिष्क मृतकको कलेजो र मिर्गौला एउटै बिरामीमा प्रत्यारोपण

नेपाल हेल्थ न्युज, काठमाडौं । भक्तपुर सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। केन्द्रमा मस्तिष्क मृत घोषणा गरिएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला एउटै बिरामीमा एकै साथ प्रत्यारोपण गरिएको छ, जुन नेपालको  प्रत्यारोपण चिकित्सा क्षेत्रमा पहिलो घटना हो।

यो प्रत्यारोपण ५४ वर्षका एक पुरुषमा गरिएको हो, जसको कलेजो र मिर्गौला दुवैले काम गर्न छोडेका थिए। विगतमा यस्तो अवस्थाका बिरामीहरूलाई अलग–अलग अङ्ग प्रत्यारोपण गरिँदै आएको भए पनि, पहिलोपटक एउटै व्यक्तिमा दुबै अङ्ग एकैपटक सफलतापूर्वक प्रत्यारोपण गरिएको हो।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार यसअघि कलेजो प्रत्यारोपणका लागि विदेशी विशेषज्ञहरूको सहयोग आवश्यक पर्थ्यो। तर, यसपटक सम्पूर्ण प्रक्रिया नेपाली चिकित्सकहरूको टोलीद्वारा सम्पन्न गरिएको हो, जुन स्वदेशी क्षमताको ठूलो प्रमाण हो।

प्रत्यारोपणका लागि आवश्यक अङ्गहरू काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत १८ वर्षीय युवकबाट प्राप्त गरिएको हो। धादिङ निवासी ती युवकको काठमाडौंको नारायणगोपाल चोकमा भएको सवारी दुर्घटनापछि मस्तिष्क मृत्यु भएको थियो। केएमसीमा गरिएको परीक्षणबाट मस्तिष्क मृत घोषित भएपछि, उनका परिवारको सहमतिमा अंगदान प्रक्रिया सुरु गरिएको थियो।

डा. रोशन घिमिरेको नेतृत्वमा रहेको केएमसीको विशेषज्ञ टोलीले ती युवकका कलेजो र मिर्गौला सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेका थिए। ती अङ्गहरू ५४ वर्षीय बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिए।

नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपणको यो १२औं र कलेजो प्रत्यारोपणको चौथो घटना हो। तर, एउटै व्यक्तिमा एकै साथ दुबै अङ्गको सफल प्रत्यारोपण भने पहिलोपटक भएको हो।

डा. श्रेष्ठले बिरामी अस्पतालबाट डिस्चार्ज भएपछि थप जानकारी सार्वजनिक गरिने जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट