नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउन स्रोत सुनिश्चितता र प्राथमिकताको पुनःपरिकल्पनाको आवश्यकता औंल्याउँदै, विश्वस्तरीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ।
स्विट्जरल्याण्डको जेनेभामा आयोजना भइरहेको ७८औं विश्व स्वास्थ्य सम्मेलनमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले हाल विश्वभर देखा परिरहेका स्वास्थ्य चुनौतीहरूको समाधान खोजीमा विश्व स्वास्थ्य संगठन (WHO) को भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले समतामूलक तथा पहुँचयोग्य स्वास्थ्य सेवाको पूर्वतयारी महामारी नियन्त्रणको पूर्व शर्त भएको उल्लेख गर्दै, महामारीसम्बन्धी नयाँ सहमति र सम्झौताको नेपालले स्वागत गर्ने बताउनुभयो। सदस्य राष्ट्रहरूबीच बलियो सहकार्य र साझेदारीमार्फत मात्र स्वास्थ्य सुरक्षामा दीगो समाधान सम्भव हुने मन्त्री पौडेलको भनाइ थियो।
मातृ तथा शिशु मृत्युदरमा उल्लेखनीय सुधार, पोलियो उन्मूलनमा प्राप्त सफलता, र खोप सेवा विस्तारमा नेपालले हासिल गरेको प्रगति पनि उहाँले सम्मेलनमा प्रस्तुत गर्नुभयो। महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम र विद्यालय स्वास्थ्य अभियानले मुलुकभर सकारात्मक प्रभाव पारेको उदाहरण उहाँले दिनुभयाो।
स्वास्थ्य बीमा कार्यक्रम, डिजिटल स्वास्थ्य सेवा र महामारी पूर्वतयारीमा नेपालले चालिएका कदमहरूबारे जानकारी दिँदै, सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि चालिएको पहल पनि मन्त्री पौडेलले सम्मेलनमा साझा गर्नुभयो।
वृद्ध जनसंख्या वृद्धि, जन्मदरमा गिरावट, आन्तरिक बसाइँसराइ, मानसिक तथा नसर्ने रोगजस्ता नयाँ स्वास्थ्य चुनौतीहरूको सामना गर्न नेपालले अन्तर्राष्ट्रिय साझेदारीको अपेक्षा गरेको उहाँको भनाइ थियो।
जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखापरेका असरप्रति चिन्ता व्यक्त गर्दै, मन्त्री पौडेलले यस विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने योजना बनाएको जानकारी समेत दिनुभयो।
उहाँले सम्मेलनको अवसरमा विभिन्न मुलुकका स्वास्थ्य मन्त्रीहरूसँग द्विपक्षीय भेटघाट गरी नेपालका लागि सहकार्यका सम्भावनाहरू पनि खोजी गरिरहनुभएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
