नेपाल हेल्थ न्युज, काठमाडौैं । मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हालै काठमाडौंको बुद्धनगरमा एक दिवसीय कार्यशालाको आयोजना गरिएको छ। नेपाल युनाइट्स, यूथ इनिसिएटिभ, गैरसरकारी संस्था महासंघ, सोसल इम्प्याक्ट र नेपाल डेभलपमेन्ट इनिसियटिभ को संयुक्त प्रयासमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यशालामा देशका सातै प्रदेशबाट प्रतिनिधित्व गर्दै करिब ३० जना युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख केन्द्रबिन्दु मानसिक स्वास्थ्य र समग्र भलाइ रहेको थियो।
कार्यक्रमको पहिलो सत्रमा क्यानडाबाट आएका मानसिक स्वास्थ्य प्रशिक्षक निहाल कुमार सिंहले भ्रम र यथार्थ विषयमा अन्तरक्रियात्मक प्रस्तुति दिए। उनले डिजिटल माध्यमको उपयोग गर्दै मानसिक स्वास्थ्यको अर्थ, चुनौतीसँग कसरी जुध्ने, सहयोगी बन्ने तरिका र सामाजिक-सांस्कृतिक कारकहरूको भूमिका स्पष्ट पारे। सत्रको अन्त्यमा सहभागीहरूलाई आभार व्यक्त गर्ने अभ्यास गराइएको थियो, जसले उनीहरूलाई मानसिक रूपमा हल्का र सकारात्मक महसुस गराएको सहभागीहरूको भनाइ थियो।
दोस्रो सत्रमा यूथ इनिसियटिभका महासचिव योगेश काफ्लेले शटेक योर इमोसनल टेम्प्रेचर अभ्यासमार्फत आत्मअनुभूति र भावनात्मक स्थितिमा सचेत हुने तरिका सिकाए। उनले विचार, भावना र व्यवहारको आपसी सम्बन्धबारे जानकारी गराए।
त्यसपछि डा. गोपाल ढकालले ध्यान अभ्यासबाट सुरु गर्दै नेपालको मानसिक स्वास्थ्यको वर्तमान अवस्था, त्यससँग जोडिएका चुनौतीहरू तथा सुधारका सम्भावनाहरूबारे चर्चा गरे।
कार्यक्रमको उद्घाटन यूथ इनिसियटिभकी सचिव सुष्मिता यादवको स्वागत मन्तव्यबाट भएको थियो। उद्घाटन मन्तव्यमा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नेपाली युवाबीच बढ्दो मानसिक समस्या गम्भीर विषय भएको भन्दै यसको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
समापन मन्तव्यमा यूथ इनिसियटिभका अध्यक्ष गङ्गा बहादुर गौतम (पवन) र नेपाल युनाइट्सका निर्देशक मोहम्मद रहमानले युवाहरूलाई नीति निर्माण तहमा आवाज उठाउन र समाजमा मानसिक स्वास्थ्यप्रति सकारात्मक वातावरण निर्माण गर्न आग्रह गरे। कार्यक्रमको अन्त्यमा सहभागी रविको गिटार र गायन प्रस्तुति रहेको थियो, जसले कार्यक्रममा थप ऊर्जा भरेको थियो।
मानसिक स्वास्थ्य जागरूकता महिना सन् १९४९ मा अमेरिका (स्थित मानसिक स्वास्थ्य अमेरिका) संस्था मार्फत सुरु गरिएको हो। सन् २०२५ को नाराः सचेतनालाई क्रियामा रूपान्तरण गरौं भन्ने सन्देशले व्यवहारिक परिवर्तन र सक्रिय सहभागिताको आवश्यकता औंल्याउँछ। यही उद्देश्यलाई आत्मसात् गर्दै कार्यक्रम सञ्चालन गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
