नेभिगेशन

जेनेभामा सांसद सोबिता गौतमको आग्रह : स्वास्थ्यलाई शान्ति र न्यायको आधार बनाऔं

नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य तथा अन्तरसंसदीय संघ (आईपीयू) अन्तर्गतको स्वास्थ्य समितिकी सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

स्विट्जरल्याण्डको जेनेभामा हालै सम्पन्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७७औं महासभाको अवसरमा आयोजित विश्वव्यापी संसदीय संवाद कार्यक्रममा सहभागी हुँदै सांसद गौतमले सबै देशहरूले स्वास्थ्य क्षेत्रमा आवश्यक कानून निर्माण र लगानी सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, हामीले दृढ संकल्पका साथ स्वास्थ्यसम्बन्धी कानून बनाउनु पर्दछ र निडरतापूर्वक आवश्यक लगानी गर्नुपर्ने हुन्छ। स्वास्थ्यलाई शान्ति र न्यायको आधारका रूपमा हेर्न जरुरी छ।

सांसदहरू अब केवल अवलोकन गर्ने पात्र होइनन्, अब हामी नीतिनिर्माण र दीर्घकालीन विकासमा अग्रणी भूमिका निर्वाह गर्ने नेतृत्वकर्ताका रूपमा अघि बढ्नुपर्छ, गौतमको भनाइ थियो।

उहाँले आफू आईपीयूको स्वास्थ्य सल्लाहकार समूहमा नेपालको प्रतिनिधित्व गर्दै सदस्य हुन पाउनु गौरवको विषय भएको बताउँदै यस्तो अन्तर्राष्ट्रिय संवादले संसदहरूलाई स्वास्थ्य नीतिमा प्रत्यक्ष भूमिका दिन थालेको महसुस भएको बताउनुभयो।

गौतमले डब्लूएचओले हालै पारित गरेको महामारी सम्झौतामा सांसदहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै भन्नुभयो, सम्झौता पास हुनु कुनै अन्त्य होइन, यो त सुरुवात हो। अब जैविक जोखिम र जानकारीको समयमै आदानप्रदान, महामारीसम्बन्धी उत्पादनमा पहुँच तथा लाभको समान वितरण सुनिश्चित गर्न हामी सबै मिलेर अघि बढ्नुपर्नेछ।

उहाँले यस सम्झौताले प्रभावकारी बन्नका लागि हरेक राष्ट्रको संसदबाट अनुमोदन हुनु आवश्यक रहेकोमा पनि जोड दिनुभयो।

अन्तर्राष्ट्रिय सहयोगमा देखिएको कटौतीको संकेतप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ूनेपालजस्ता निम्न आय भएका मुलुकहरूमा यसको गम्भीर असर पर्छ। रोग र भाइरसले सिमाना र वर्ग भन्दैन। जबसम्म सबै राष्ट्र सुरक्षित हुँदैनन्, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुन सक्दैन।

नेपालको कुल बजेटको पाँच प्रतिशतभन्दा कम हिस्सा मात्रै स्वास्थ्य क्षेत्रमा रहेको उल्लेख गर्दै उहाँले डब्लूएचओको मापदण्डभन्दा यो निकै कम भएको बताउनुभयाो। स्वास्थ्य खर्च होइन, यो दीर्घकालीन लगानी हो। अहिले लगानी गरियो भने भविष्यमा लाग्ने खर्च घट्छ, तर अहिले कटौती गरियो भने भोलि महँगो मूल्य चुकाउनु पर्छ, उनले भन्नुभयो।

उहाँले काम गर्ने समय आएको उल्लेख गर्दै भन्नुभयो, हाम्रो कर्म नै हाम्रो विरासत हो। इतिहासले हामीले के काम गर्‍यौं भनेर सम्झनेछ। अब बहसमात्र होइन, काम गर्ने बेला आएको छ।

संवाद कार्यक्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम, आईपीयू महासचिव मार्टिन चुंगोङ, डब्लूएचओका वरिष्ठ अधिकारीहरू र विभिन्न राष्ट्रका सांसदहरू समेत सहभागी थिए। गौतमले संवादलाई ऐतिहासिक पहलको रूपमा स्वागत गर्दै संसद् नै विश्व स्वास्थ्य प्रणालीको मेरुदण्ड हो भन्ने सन्देश स्थापित भएको बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट