नेपाल हेल्थ न्युज, काठमाडौं । स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्दै काठमाडौँ महानगरपालिकाले योग अभ्यासलाई समुदायमा विस्तार गर्न ‘आरोग्य जीवन’ नामक विशेष अभियान थालेको छ। यस योजनाअन्तर्गत विभिन्न वडामा चरणबद्ध रूपमा योग शिविर सञ्चालन भइरहेको छ, जहाँ सहभागीहरूलाई रोगअनुसार योग अभ्यास गराउने व्यवस्था गरिएको छ।
महानगरको स्वास्थ्य विभागद्वारा सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दालाई शारीरिक र मानसिक स्वास्थ्य सुदृढ पार्न योगको महत्त्व र त्यसको प्रयोगात्मक पक्षमा प्रशिक्षण दिइन्छ। शिविर पाँच दिनसम्म सञ्चालन हुन्छ, जसको प्रारम्भ वडा नम्बर १४ बाट वैशाख १४ गते गरिएको थियो। त्यसयता वडा नम्बर १२, १५ र धरहरामा यो कार्यक्रम सम्पन्न भइसकेको छ भने अब वडा नम्बर ३१ र २३ मा सञ्चालनको तयारी भइरहेको छ।
शिविरको अन्तिम दिन सहभागीहरूको रक्तचाप र मधुमेह परीक्षण गरी निःशुल्क आयुर्वेदिक रसायन औषधिहरु—जस्तै त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी र महानारायण तेल—वितरण गरिन्छ। वरिष्ठ वैद्य पार्वती रावलका अनुसार, यस्ता औषधिहरुले शरीरलाई बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्याउने विश्वास गरिन्छ।
वैद्य निरीक्षक मञ्जुश्री ठाकुरले परीक्षणमा सहभागी व्यक्तिहरूमा उच्च रक्तचापको समस्या व्यापक रूपमा देखिएको जानकारी दिनुभयो। साथै, शिविरमा सहभागीहरूलाई खानपान, दिनचर्या र मानसिक सन्तुलनसम्बन्धी जीवनशैली सुधारका विषयमा विशेषज्ञ चिकित्सकबाट परामर्श दिइन्छ।
महानगरले वडास्तरीय योग प्रशिक्षक तयार पार्दै सामुदायिक स्तरमा योग तथा व्यायाम अभ्यासलाई नियमित बनाउने लक्ष्य राखेको छ। नगरपालिकाका अनुसार, कार्यक्रमको मूल उद्देश्य नागरिकलाई रोग लाग्नुभन्दा पहिले नै सतर्क बनाउँदै उपचार खर्च, मानसिक तनाव र शारीरिक पीडाबाट जोगाउनु हो।
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
मेयरका छोरा डा. यादवले एकै पटक गरे साउनभरिको हाजिर
बुधबार, साउन १३, २०८३
