नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल हालै सम्पन्न विश्व स्वास्थ्य सङ्गठन को ७८ औं महासभामा कार्यकारी सदस्यको रूपमा सर्वसम्मत निर्वाचित भएको छ। जेनेभामा सम्पन्न महासभामा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रको प्रतिनिधिका रूपमा आगामी तीन वर्षका लागि निर्वाचित भएको हो।
यो पदमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर मिलेसँगै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यो उपलब्धिलाई ऐतिहासिक भन्दै शुभकामना दिनुभएको छ। “यो हाम्रो लागि आफ्नो राम्रो स्वास्थ्य अभ्यासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने र अन्य देशका सफल अभ्यासहरू अपनाउने उत्कृष्ट अवसर हो,” मन्त्री पौडेलले भन्नुभयो। उहाँले सम्पूर्ण नेपाली जनतालाई यो सफलताका लागि बधाईसमेत दिनुभयो।
नेपालले अबको कार्यकालमा आप्रवासी श्रमिकहरूको स्वास्थ्य सुरक्षाका विषयमा विशेष ध्यान दिने तयारी गरिरहेको छ। मन्त्री पौडेलका अनुसार नेपालले आगामी वर्षको महासभामा यस्तो प्रस्ताव लैजानुहुनेछ, जसले रोजगारदातालाई श्रमिकको स्वास्थ्यप्रति जिम्मेवार बनाउनेछ।
“यो पहलले नेपाली मात्र होइन, विश्वभरिका श्रमिकहरूको स्वास्थ्य सुरक्षाका पक्षमा ठोस योगदान दिनेछ,” उहाँले विश्वास व्यक्त गर्नुभयो।


