नेपाल हेल्थ न्युज, काठमााडौं । नेपालले अंग प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। देशमै पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एउटै बिरामीमा प्रत्यारोपण गरिएको छ। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्पन्न यो चिकित्सा उपलब्धिले नेपालमा जटिल शल्यक्रिया सम्भव छ भन्ने प्रमाणित गरेको छ।
यस ऐतिहासिक शल्यक्रिया नेपाली चिकित्सकहरूको टोलीद्वारा सम्पन्न गरिएको हो। एउटै बिरामीमा मिर्गौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने अर्का एक व्यक्तिमा मिर्गौला मात्र प्रत्यारोपण गरिएको छ। दुबै बिरामीको स्वास्थ्यमा सुधार देखिएको छ र चाँडै डिस्चार्ज हुने तयारीमा छन्।
यो कार्य डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सम्पन्न भयो। कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रवीण महर्जन संलग्न थिए भने मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का सहभागी थिए।
एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा र डा. रेखा श्रेष्ठले सहयोग गरे। त्यस्तै नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी, र डा. वीक्रमवीर बज्राचार्यको सहभागिता रह्यो।
रेडियोलोजी, प्याथोलोजी, ट्रान्सप्लान्ट कोर्डिनेसन, नर्सिङ, व्यवस्थापनजस्ता अन्य विभागका डाक्टर, नर्स र कर्मचारीहरूले पनि टोलीमा रहेर योगदान गरे।
काठमाडौंबाट मस्तिष्क मृत्यु भएका १८ वर्षीय युवकका दुई मिर्गौला र एक कलेजो सङ्कलन गरिएको थियो। अंग सङ्कलन कार्य काठमाडौं मेडिकल कलेजमा गरिएको थियो, जसमा सोही अस्पतालका चिकित्सक तथा व्यवस्थापकहरूको सक्रिय सहभागिता रहेको थियो।
यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्युपश्चात् अंगदानलाई प्रोत्साहन गर्न दाताको परिवारलाई दुई लाख रुपैयाँ र अस्पताललाई ७५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
