नेपाल हेल्थ न्युज, काठमाडौं । सुर्खेतको एउटा टाढाको गाउँमा, जहाँ बिहान घाम सँगै चिया उम्लन्छ र बच्चाहरू हाँसो खेलमै रमाउँछन्, त्यहीँ बस्नुहुन्छ तुलसी थापा । उहाँका छोरा अनुप, नौ वर्षका, बिहान उठ्ने बित्तिकै आमालाई काखमा बेरिएर भन्थे—‘आमा, म ठूलो भएर पाइलट बन्छु है ।’ तर त्यो हाँसो एकदिन सुत्नुअघि दुखाइको गुनासोमा बदलियो ।
एक सानो गिर्खाले दिएको ठूलो खबर
छोराको घाँटीमा देखिएको सानो गिर्खा लिएर उहाँ वीरन्द्रनगर अस्पताल पुग्नुभयो । परीक्षणपछि अनुपलाई काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइयो । सिटी स्क्यान, एफएनएसी जस्ता कठिन शब्दहरू तुलसीले पहिलोपल्ट सुन्दै हुनुहुन्थ्यो । रिपोर्ट आयो तर अनुपलाई ‘हड्किन लिम्फोमा’ भन्ने क्यान्सर भएको थियो । त्यो क्षण तुलसीको शरीर सुनसान जस्तै भयो । आँसु थामिएन । सपना जस्तै लाग्यो । तर यो सपना थिएन । तर डाक्टरहरूले हिम्मत दिँदै भने—‘सुरुको चरणमा उपचार भएमा यो क्यान्सर पूरै निको हुन्छ ।’ त्यो दिनदेखि सुरु भयो अनुप र आमाको जिन्दगीको सबैभन्दा ठूलो लडाइँ ।
भक्तपुरः पीडामा पनि घरको माया
उपचारको अर्को चरणका लागि अनुपलाई भक्तपुर क्यान्सर अस्पताल लगियो । यहाँ १४ वर्षमुनिका बालबालिकाका लागि सम्पूर्ण सेवा निःशुल्क थियो—बेड, ल्याब टेस्ट, औषधि, रेडियोथेरापी, सिटी स्क्यान, आईसियू आदि । लिओ फाउन्डेसनले भाडामा लिएको एउटा सानो घरमा तुलसी र अन्य अभिभावकहरू बसेका थिए, खाना पकाउनेसम्म सुविधा थियो । पहिलो पटक लाग्यो—‘अस्पताल जस्तो छैन यो, घरजस्तै लाग्छ ।’
किमोथेरापी र बलियो मुस्कान
अनुपको किमोथेरापी सुरु भयो । बाल कपाल झरे, शरीर कमजोर भयो । तर आँखा झन् चम्कन थाले । उही अनुप, जसले भन्थ्यो—‘आमा, म त निको भएर घर फर्किन्छु नि ।’ वार्मिङ हार्टस् नेपाल र वल्र्ड चाइल्ड फाउन्डेसन जस्ता संस्थाहरूले खान बस्नदेखि लिएर अस्पताल लैजानेसम्मको व्यवस्था गरे । तुलसीजस्ता अभिभावकलाई केही समयका लागि भए पनि आर्थिक पिर घट्यो ।
थोरै पहुँच, धेरै समस्या
अस्पतालकी कन्सल्यान्ट पेडियाट्रिक हेमाटोअंकोलोजिष्ट डा. ऋतु लामिछाने भन्नहुन्छ– ‘नेपालमा हरेक वर्ष करिब १५०० बालबालिकामा क्यान्सर देखिन्छ । तर तीमध्ये ३०–४०% मात्र उपचारको पहुँचमा पुग्छन् । धेरैले आर्थिक कारणले बीचमै उपचार छोडेर जानुपर्छ ।’ नेपालमा पेट सिटी स्क्यान गर्ने सुविधा दुईवटा ठाउँमा मात्रै छ । त्यो हो काठमाडौंमा रहेको कुण्डलिनी र सूर्या डायग्नोस्टिक सेन्टर । उनीहरुका लागि त्यो खर्च सबैभन्दा महँगो भाग हो । बाँकी सबै निःशुल्क भए पनि यो परीक्षण धेरै अभिभावकका लागि भारी हुन्छ ।
सकारात्मक खबर र उज्यालो आशा
पछिल्लो रिपोर्टअनुसार अनुपको स्वास्थ्यमा सुधार आएको छ । ‘अब राम्रै होला, छिट्टै घर फर्किन्छु’—तुलसी मुस्काउँदै भन्नुहुन्छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसे भन्नुहुन्छ – ‘हामी सबै अभिभावकलाई सेवा दिन र हौसला दिन प्रतिबद्ध छौं । अस्पताल मात्र होइन, एउटा सहारा बन्न खोजिरहेका छौं।’
एउटा बाबुको कथा मात्र होइन– हजारौंको आवाज
अनुपको लडाइँ मात्र होइन, यो हजारौं नेपाली बालबालिका र अभिभावकहरूको कथा हो–जो बाँच्न चाहन्छन्, लड्न सक्नेछन्, सही समयमै साथ र सेवा पाएमा । अन्तिममा कथा भन्छ—‘क्यान्सर अन्त्य होइन, परिवर्तन हो । दुःखको सुरुवात हो, तर आशाको नयाँ यात्रा पनि हो ।’ त्यसैले क्यान्सरको समयमै पहिचान, गुणस्तरीय उपचार र सहयोगी समाज भएमा बाँच्ने सम्भावन धेरै हुन्छ । अनुपको कथा अझै बाँकी छ । तर आज उसले जति जितिसकेको छ, त्यो पनि एक युद्धको जित हो ।
उपेक्षाविना उपचार : अस्पतालको संकल्प
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसे भन्नुहुन्छ—‘अस्पतालले बालबालिकाको क्यान्सर उपचारलाई प्रभावकारी बनाउँदै आएको छ ।’ सेवाग्राहीहरूलाई उपेक्षा नगरी निःशुल्क उपचार प्रदान गरिँदा उत्कृष्ट नतिजा देखा परेको उहाँको अनुभव छ ।
बाल क्यान्सरको अवस्था : डब्लुएचओको तथ्याङ्क
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बर्सेनी विश्वभर करिब चार लाख नयाँ बाल क्यान्सर डायग्नोसिस हुन्छन् । नेपालमा आधिकारिक तथ्यांकको अभाव भए तापनि करिब १ हजार ५०० बालबालिकामा क्यान्सर हुने अनुमान गरिएको छ ।
उपचारको पहुँचमा सीमितता
डा. ऋतु लामिछाने अनुसार, नेपालमा क्यान्सर पहिचान भएका मध्ये ३०–४० प्रतिशत बालबालिका मात्रै उपचारको पहुँचमा छन् । आर्थिक कठिनाइ, जनशक्ति अभाव, पूर्वाधारको कमजोरी आदि मुख्य चुनौती बनेका छन् ।
सरकार र साझेदार संस्थाहरूको भूमिका
डा. लामिछाने भन्नुहुन्छ—‘क्यान्सर उपचार जस्तो चुनौतीपूर्ण काममा चिकित्सक वा अस्पताल मात्र होइन, सरकार, संघसंस्था तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।’ स्रोत–साधन सीमित हुँदा पनि गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भन्नेमा अस्पताल केन्द्रित छ ।
उपचारको सकारात्मक संकेत
भक्तपुर अस्पतालले निःशुल्क सेवा थालेपछि तीन महिनाको छोटा अवधिमै ८० जना बालबालिकाका आफन्तले उपचारका लागि रजिष्टर गरिसकेका छन् । आर्थिक अभावका कारण वञ्चित बालबालिकाको पहुँच विस्तार भइरहेको छ ।
निःशुल्क किमोथेरापी औषधि नेपालमा
विश्व स्वास्थ्य संगठन र चीनको सेञ्जु अस्पतालको सहकार्यमा ३५ थरी किमोथेरापी औषधि नेपाल ल्याउने योजना सुरु भइसकेको छ । पहिलो चरणमा तीनवटा औषधि नेपाल आइरहेका छन्, जसले उपचारमा ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
देशभरका बालबालिकालाई लाभ
भक्तपुर, पाटन, कान्ति र चितवनस्थित क्यान्सर अस्पतालहरूबाट बालबालिकाले सेवा पाइरहेका छन् । डब्लुएचओको लक्ष्यअनुसार सन् २०३० सम्म सर्भाइभल दर ३०% बाट ६०% पुर्याउने लक्ष्यमा सघाउने प्रयास भैरहेको छ ।
‘वार्मिङ हार्टस् नेपाल’को साथ
वार्मिङ हार्टस् नेपालले आर्थिक रूपमा कमजोर अभिभावकलाई सहयोग गर्दै मनोरञ्जनका सामग्रीहरू समेत उपलब्ध गराउँदै आएको छ । बाल सघन उपचार कक्ष (पीआईसीयू) निर्माणमा पनि उक्त संस्थाको सहकार्य रहनेछ ।
अस्पताल : सेवा केन्द्र भन्दा बढी, घरजस्तै
अस्पताल प्रशासन प्रमुख राजाराम तजलेका अनुसार, विभिन्न संघसंस्थाको सहयोगले अस्पताल घरजस्तै बन्न पुगेको छ । हाल बालबालिकाका लागि १५ बेड रहेको अस्पतालले २२ बेडको विस्तार गर्ने योजना अघि सारेको छ ।
बाल क्यान्सरका लक्षण र चुनौती
भक्तपुरमा दुई वर्षको अवधिमा करिब २०० बालबालिकामा क्यान्सर पहिचान भएको छ । सबैभन्दा धेरै ‘ब्लड क्यान्सर’, त्यसपछि ‘हड्किन लिम्फोमा’, ‘ब्रेन ट्युमर’ आदि देखिन्छन् । अभिभावकमा जानकारीको अभाव, प्रारम्भिक लक्षणको ओभरल्याप तथा विशेषज्ञको कमीले ढिलो उपचार हुने अवस्था रहन्छ ।
ब्लड क्यान्सर कसरी हुन्छ ?
बालबालिकामा क्यान्सर प्रायः जेनेटिक म्युटेसनका कारण देखिन्छ । यो जन्मदेखि १९ वर्षसम्म जुनसुकै उमेरमा देखिन सक्छ । त्यसैले अर्ली डायग्नोसिस र अर्ली ट्रीटमेन्ट अनिवार्य छ । अभिभावकमा सचेतना ल्याउन अवेयरनेस र एड्भोकेसीको महत्वपूर्ण भूमिका रहेको चिकित्सकहरू बताउँछन् ।
‘जित्न सकिन्छ क्यान्सर युद्ध’ क्यान्सर विजेता डली गुरुङ्गको अनुभव
आइतबार, चैत १७, २०८१
कोपिलाको क्यान्सर कथा : 'उच्च आत्मबल पनि एक किसिमको उपचार नै हो'
आइतबार, चैत १७, २०८१
