नेपाल हेल्थ न्युज, काठमाडौं। लामो समयदेखि विवाद, अदालती आदेश र निर्वाचन आचारसंहिताको घेराबन्दीमा परेको नेपाल चिकित्सक संघ को निर्वाचन प्रक्रिया फेरि अघि बढाउने प्रयास सुरु भएको छ। निर्वाचन समितिले रोकिएको कार्यक्रमलाई ट्रयाकमा ल्याउन आगामी बुधबार उम्मेदवारहरू तथा तिनका प्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको छ।
समितिको शनिबार सम्पन्न बैठकले निर्वाचन प्रक्रिया पुनः सुरु गर्ने तयारीस्वरूप उम्मेदवारसँग प्रत्यक्ष छलफल गर्ने निर्णय गरेको हो। प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले सूचना जारी गर्दै उम्मेदवार वा तिनका प्रतिनिधिलाई आगामी बुधबार बिहान ११ बजे संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।
विवादबाट सुरु भएको अवरोध
चिकित्सक संघको निर्वाचन सुरुमा १७ माघमा सम्पन्न हुने गरी तय गरिएको थियो। तर निर्वाचन समितिले केही चिकित्सकहरूको उम्मेदवारी रद्द गर्ने निर्णय गरेपछि विवाद चर्किएको थियो। निर्वाचन समितिले डा. अरुण शाहीसहित केही चिकित्सकहरूको उम्मेदवारी विधानविपरीत भन्दै खारेज गर्ने निर्णय गरेपछि उनीहरू न्यायिक उपचारका लागि अघि बढेका थिए। उम्मेदवारहरूले जिल्ला प्रशासन कार्यालय हुँदै उच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले निर्वाचन समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि रद्द गरिएका सबै उम्मेदवारी पुनः कायम भएका छन्। यति मात्र होइन, अदालतले चिकित्सक संघ र निर्वाचन समितिलाई तत्काल यथास्थितिमा निर्वाचन नगर्न पनि अर्को आदेश दिएको थियो। यसले गर्दा चुनाव प्रक्रिया झन् जटिल मोडमा पुगेको थियो।
अदालत, विवाद र आचारसंहिताको चक्र
अदालती प्रक्रियामा अल्झिएको निर्वाचन प्रक्रिया अझै व्यवस्थित हुन नपाउँदै अर्को चुनौती थपियो। देशमा लागू भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिताले संघको निर्वाचन कार्यक्रम अघि बढाउन थप अवरोध सिर्जना गर्यो। आचारसंहिता लागू भएसँगै संस्थागत निर्वाचनहरू सञ्चालन गर्न कठिन भएपछि चिकित्सक संघको चुनाव पुनः स्थगित हुन पुग्यो।
अब प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता समाप्त भइसकेकाले रोकिएको प्रक्रिया पुनः अघि बढाउने प्रयास सुरु गरिएको निर्वाचन समितिले जनाएको छ।
नैतिक जिम्मेवारीबारे उठ्दै प्रश्न
निर्वाचन विवाद लम्बिँदै जाँदा चिकित्सक समुदायभित्रै निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। कतिपय चिकित्सकहरूले समितिले विधानविपरीत निर्णय गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न नसकेको भन्दै नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन्।
तर निर्वाचन समिति भने यस विषयमा औपचारिक प्रतिक्रिया नदिई रोकिएको निर्वाचन प्रक्रिया सम्पन्न गराउनेतर्फ केन्द्रित देखिएको छ।
चिकित्सक संघको नेतृत्व चयन कहिले ?
चिकित्सक संघ नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पेशागत संस्था हो। यस संस्थाको नेतृत्व चयन प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदा चिकित्सक समुदायभित्र असन्तुष्टि र अन्योलता बढ्दै गएको छ। अब बुधबार हुने छलफलले निर्वाचनको नयाँ कार्यतालिका तय गर्ने वा थप विवादको बाटो खोल्ने भन्ने चासो चिकित्सक समुदायमा बढेको छ।
चिकित्सक संघको निर्वाचन कहिले र कसरी सम्पन्न हुन्छ भन्ने प्रश्नको उत्तर अब निर्वाचन समिति र उम्मेदवारबीच हुने आगामी छलफलले केही हदसम्म स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
काठमाडौं मेडिकल कलेजमा दुर्लभ मस्तिष्क रोगको सफल उपचार
आइतबार, चैत १, २०८२
जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
शुक्रबार, फागुन २९, २०८२
गुणस्तर नभएको वस्तु औषधि होइन : सन्तोष बराल
बिहीबार, फागुन २८, २०८२
