नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ प्रकार (ओमिक्रोनको पछिल्लो पुस्ता) फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन परीक्षणमा ओमिक्रोन समूहका विभिन्न उपप्रकारहरू भेटिएका छन्।
जेठ २२ देखि २९ गतेसम्म सङ्कलन गरिएका १४ वटा नमुनाको जाँच गर्दा सात वटा नमुनामा एक्सएफजी, तीनवटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुईवटामा जेन १ भेटिएको मन्त्रालयले जानकारी दिएको छ। यी सबै नयाँ प्रकार ओमिक्रोन परिवारका हुन्।
कोरोना फैलाउने भाइरस समयक्रमसँगै आफ्नो रूप परिवर्तन गर्दै जान्छ, जसलाई वैज्ञानिक रूपमा अनुवांशिक परिवर्तन भनिन्छ। यस्तो परिवर्तनबाट नयाँ प्रकारहरू जन्मन्छन्, जसले फरक लक्षणहरू देखाउन सक्छन्। विश्व स्वास्थ्य सङ्गठनले यस्ता नयाँ प्रकारहरू छिटो सर्ने भए पनि अत्यन्तै गम्भीर नहुने जनाउँदै आएको छ।
हाल नेपालमा पुनः सङ्क्रमणको सङ्ख्या बढ्दो छ। विशेष गरी भारतबाट फर्किनेहरूमा स्वास्थ्य परीक्षण गर्दा सङ्क्रमण देखिएको छ। सीमा क्षेत्रमा रहेका स्वास्थ्य सहायता कक्षहरूमा परीक्षण गर्दा यस्ता घटनाहरू बढिरहेको जनाइएको छ।
रोग नियन्त्रण महाशाखाका अनुसार, पुस महिनादेखि हालसम्म देशका २५ जिल्लामा गरी १६७ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १३१ जना, कोशीमा ४, मधेशमा ५, गण्डकीमा ३ र सुदूरपश्चिममा २१ जना रहेका छन्।
संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार, रुघाखोकी, जिउ दुख्ने, नाक बन्द हुने, घाँटी दुख्ने, ज्वरो आउने, थकाइ लाग्ने, दिसा पातलो हुनेजस्ता लक्षणहरू देखिन सक्छन्। हाछ्युँ गर्दा, सिङान वा थुकको छिटा लाग्दा तथा खकारको सम्पर्कबाट पनि यो रोग सर्न सक्छ।
विशेषगरी जेष्ठ नागरिक, साना बालबालिका, दीर्घ रोग भएका व्यक्ति, गर्भवती महिला तथा कमजोर प्रतिरक्षा भएको व्यक्तिमा रोगको जोखिम बढी हुने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
सुरक्षित रहनका लागि मुख छोप्ने कपडा प्रयोग गर्ने, हात सफा राख्ने, खोप लगाउने र लक्षण देखिएमा छुट्टै बस्ने सल्लाह दिइएको छ।
स्वास्थ्य मन्त्रालयले देशका तीन वटा विमानस्थल र १७ वटा स्थल सीमा नाकामा रहेका सहायता केन्द्रहरूलाई अझ प्रभावकारी बनाएको जनाएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
