नेपाल हेल्थ न्युज, काठमाडौं । उपचारका क्रममा चिकित्सक र अस्पताल दुबै पक्षबाट लापरबाही भएको आरोप लगाउँदै बिरामी वर्षा भण्डारीले दायर गरेको क्षतिपूर्ति सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले फैसला सुनाएको छ। अदालतले भण्डारीलाई कुल ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने निर्णय गरेको हो।
वर्षा भण्डारी तिघ्रामा समस्या देखिएपछि उपचारका लागि ग्राण्डी सिटी अस्पताल गएकी थिइन्। चिकित्सकले खुट्टाको बोसो निकालेर प्लास्टिक सर्जरी गरेका थिए। उपचारको क्रममा दुईपटक सर्जरी भए पनि स्वास्थ्य अवस्था झन् बिग्रँदै गएको भन्दै उनले अस्पताल र चिकित्सकविरुद्ध कानुनी उपचारको बाटो रोजेकी थिइन्।
उपभोक्ता अदालतले डा. संजिव त्रिपाठी र ग्राण्डी सिटी अस्पताल दुवैलाई लापरबाहीको दोषी ठहर गर्दै क्षतिपूर्ति रकम भागबण्डा गरेको छ। अदालतका अनुसार ७० प्रतिशत क्षतिपूर्ति अर्थात् ४० लाख ३ हजार ३०० रुपैयाँ डा. त्रिपाठीले, भने बाँकी ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ७०० रुपैयाँ अस्पतालले भुक्तान गर्नुपर्नेछ।
हालैका दिनहरूमा चिकित्सकीय लापरबाहीसम्बन्धी मुद्दाहरूमा अदालतको सक्रियता बढ्दो छ। यसअघि हिमाल अस्पताल र ओम अस्पताललाई पनि उल्लेख्य क्षतिपूर्तिको आदेश दिइएको थियो। यी फैसलाहरूले स्वास्थ्य सेवाप्रदायकहरूलाई आफ्नो पेशागत जिम्मेवारीप्रति गम्भीर हुन सन्देश दिएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन्।
वर्षा भण्डारीको मुद्दामा आएको फैसला चिकित्सकीय लापरबाहीका घटनाप्रति कानुनी संवेदनशीलता र बिरामीका हकहितप्रति अदालतको प्रतिबद्धता दर्शाउने महत्वपूर्ण उदाहरण बनेको छ। यसले पीडितलाई न्याय दिने मात्र नभई भविष्यमा यस्ता लापरबाही दोहोरिन नदिन सचेत गराउने विश्वास लिइएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
