नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले काठमाडौं उपत्यका बाहिरका १३ वटा रेफरल अस्पताललाई पुनः अस्थायी रूपमा ‘प्रथम सेवा विन्दु’को जिम्मेवारी दिन थालेको छ। मन्त्रालयको निर्देशन अनुसार बोर्डले आगामी असोज महिनाको अन्त्यसम्म ती अस्पतालहरूबाट बीमा सेवाका सुरुआती उपचार सुविधा निरन्तर दिन मिल्ने गरी पत्राचार गरेको हो।
यसअघि बोर्डले १ साउन २०८२ बाट लागू हुनेगरी ती ठूला अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको थियो। तर उक्त निर्णयले धरान, धुलिखेल, दाङ, पोखरा लगायतका क्षेत्रका अस्पतालहरूमा अन्योल सिर्जना भएको थियो। स्थानीय तह र सर्वसाधारणको चासो र विरोधलाई ध्यानमा राख्दै मन्त्रालयले हस्तक्षेप गरेपछि यो निर्णय फिर्ता लिइएको हो।
सूचना अधिकारी विकेश मल्लका अनुसार, हाल ती १३ अस्पताललाई असोज मसान्तसम्मका लागि ‘प्रथम सेवा विन्दु’को रूपमा कायम राखिएको छ। साथै, स्थानीय तहहरूलाई दीर्घकालीन समाधानको लागि छुट्टै अस्पताल सञ्चालनमा ल्याउन अनुरोध गरिएको छ।
प्रथम सेवा विन्दु कायम गरिएका १३ अस्पतालहरू यस्ता छन्ः
- कोशी अस्पताल
- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
- नारायणी अस्पताल, वीरगञ्ज
- गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
- भरतपुर अस्पताल
- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
- जीपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ
- सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
- भेरी अस्पताल, नेपालगञ्ज
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
- डडेल्धुरा अस्पताल
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत निर्णयको जानकारी दिँदै स्वास्थ्य बीमा सेवामा देखिएको अव्यवस्था समाधान गर्न यो कदम चालेको बताउनुभएको छ। उहाँले पहिलो चरणमा सेवा नपाउने ठाउँहरूमा यस्तो अस्थायी व्यवस्था गरिएको स्पष्ट पार्नुभएको छ।
मन्त्री पौडेलले सबै स्थानीय तहमा कम्तीमा एक ‘प्रथम सेवा विन्दु’ संचालन गरिने सरकारी नीति अन्तर्गत प्रदेश तथा स्थानीय सरकारहरूसँग सहकार्य गर्दै आवश्यक पूर्वाधार विस्तार गरिने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पहुँचयोग्य र दिगो बनाउने दिशामा सुझाव र सल्लाहलाई सधैं स्वागत गरिने बताउनुभएको छ।
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
सुत्केरीलाई ६ महिना तलबी बिदा दिने प्रस्ताव
बुधबार, साउन १३, २०८३
नेपालमै पहिलो पटक न्यून चिरफार विधिबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया
बुधबार, साउन १३, २०८३
