नेभिगेशन

रेबिज र सर्पदंशविरुद्ध औषधि आपूर्ति तीव्रः सबै प्रदेशमा पुग्यो खोप र भेनम

नेपाल हेल्थ न्युज, काठमाडौं । देशभर रेबिज र सर्पदंशविरुद्ध प्रयोग हुने औषधिको अभाव भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिव्र कदम चालेको छ। मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप  तथा सर्पदंश उपचारका लागि आवश्यक भेनम आपूर्ति गरेको छ।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार पहिले नै खरिद प्रक्रिया पूरा भइसकेका औषधिहरू हाल प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेका छन्। ती औषधिहरू प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थामा तत्काल वितरण हुनेछन्।

मन्त्री पौडेलको निर्देशनपछि आपूर्ति प्रक्रिया तीव्र
रेबिज र सर्पदंशसम्बन्धी औषधी अभाव भएको खबर सार्वजनिक भएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गम्भीर चासो व्यक्त गर्नुभएको थियो। उहाँले तत्काल सम्बन्धित निकायका अधिकारीलाई बोलाएर औषधि अभाव हटाउन आपूर्ति प्रक्रिया तीव्र गर्न निर्देशन दिनुभएको थियो। मन्त्री पौडेलले निकट भविष्यमा पनि कुनै प्रकारको अभाव नआओस् भन्ने हेतुले दीर्घकालीन आपूर्ति योजना बनाउन निर्देशन दिनुभएको थियो। त्यसपछि विभागले छिटोछरितो रूपमा औषधी ढुवानी, भण्डारण र वितरण प्रक्रिया अघि बढाएको हो।

तथ्यांकअनुसार यस्तो छ आपूर्ति स्थिति
स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म रेबिजविरुद्धको ५१ हजार १८० भायल खोप देशभरका प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइसकिएको छ। यसका साथै सर्पदंशविरुद्ध प्रयोग हुने हजारौं भायल भेनम पनि वितरण भइसकेको छ।

सबैभन्दा बढी आपूर्ति भएका प्रदेश
बाग्मती प्रदेश

रेबिज खोपः १०,०८० भायल

सर्पदंश भेनमः १,००० भायल

मधेश प्रदेश

रेबिज खोपः करिब ५,००० भायल

सर्पदंश भेनमः २,५०० भायल

मधेशमा हरेक वर्ष सर्पदंशका घटनाहरू बढी हुने गरेकाले त्यहाँ बढी भेनम आपूर्ति गरिएको हो।

अन्य पाँच प्रदेश—गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी—मा मागअनुसार खोप र भेनम आपूर्ति भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।

थप आपूर्तिको तयारी
विभागले हाल भएको आपूर्तिका अतिरिक्त आगामी दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी औषधी आपूर्ति हुने गरी प्रक्रिया अघि बढाएको पनि जनाएको छ। यसबाट दीर्घकालीन रूपमा औषधि अभावको समस्या नहोस् भन्ने उद्देश्य राखिएको छ।

स्वास्थ्य सेवा विभागले देशका ग्रामीण तथा अति संवेदनशील क्षेत्रमा समेत खोप र भेनम सहज रूपमा उपलब्ध गराउनेगरी योजनाबद्ध आपूर्ति प्रणाली विकास गर्दै गएको बताइएको छ।

विशेषज्ञहरूको प्रतिक्रिया
संक्रामक रोग विशेषज्ञ डा. विवेक शर्मा भन्नुहुन्छ रेबिज र सर्पदंश दुवै तत्काल उपचार नगरिए ज्यानसमेत जाने खालका गम्भीर समस्या हुन्। यस्तो अवस्थामा सरकारले समयमै औषधी आपूर्ति गरेको कदम अत्यन्तै सकारात्मक हो। तर यो निरन्तरता हुन जरुरी छ।

सरकारको सक्रियता र विभागीय तत्परताले गर्दा रेबिज र सर्पदंशजस्ता गम्भीर रोगको उपचारमा अब सहजता आउने देखिन्छ। यद्यपि वितरण, भण्डारण र वास्तविक आवश्यकताको तथ्याङ्कसहितको दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान दिइनुपर्ने आवश्यकता छ। यदि यस्ता स्वास्थ्यजन्य आपूर्तिमा निरन्तरता रह्यो भने, उपचार सेवामा नागरिकको भरोसा अझ बढ्ने निश्चित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट