नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पताल आइतबार एउटा विशेष समारोहको साक्षी बन्यो। ‘हेड एण्ड नेक क्यान्सर डे’ को अवसरमा आयोजित कार्यक्रममा क्यान्सरलाई परास्त गरेका बिरामीहरूलाई सम्मान गर्दै उनीहरूको संघर्ष र सफलताको कथा साझा गरियो। कार्यक्रममा उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिँदा उपस्थित व्यक्तिहरू भाबुक बने।
कार्यक्रमका प्रमुख आयोजक तथा अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भावुक स्वरमा भन्नुभयो,
“उहाँहरू हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ। तपाईंहरूले देखाउनुभएको साहस र संघर्ष हामी स्वास्थ्यकर्मीलाई पनि हरेक दिन सेवा दिने ऊर्जा दिन्छ।”
रोगमुक्त भइसकेकाहरूको प्रेरणादायी उपस्थिति
क्यान्सर बिजेताहरूले आफ्नो उपचारको कठिन यात्रा र त्यसपछि जीवन फर्किएको क्षणबारे खुलस्त अनुभव सुनाए। कोहीले गुमेको आवाज फर्किएको कथा सुनाए, कोहीले आफ्नो स्वर, अनुहार वा जीवनशैलीमा आएको परिवर्तनसँग कसरी सामना गरे भन्ने सुनाए। तिनका अनुभवहरू अस्पतालभित्रका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सहभागीहरूका लागि गहिरो सन्देश बन्ला।
टाउको र घाँटी क्यान्सरः नेपालमा बढ्दो चिन्ता
कार्यक्रममा डा.चालिसेले टाउको र घाँटीसम्बन्धी क्यान्सर नेपालमा निकै गम्भीर समस्या बन्दै गएको तथ्य सार्वजनिक गर्नुभयो।
“यीमध्ये धेरैजसो क्यान्सरहरू सुरुमै पत्ता लागेमा उपचार सम्भव हुन्छ। तर जनचेतनाको कमी, सामाजिक लाज, र ग्रामीण क्षेत्रमा उपचारको पहुँच नहुँदा बिरामीहरू ढिलो अस्पताल आइपुग्नुहुन्छ,” उहाँले बताउनुभयो ।
उपचार मात्र होइन, रोकथाम र जनचेतनामा पनि प्रतिबद्धता
भक्तपुर क्यान्सर अस्पतालले क्यान्सरको उपचार मात्र नभई रोकथाम र जनचेतनालाई समेत प्राथमिकतामा राखेको छ।
यसै सन्दर्भमा चालिसेले जानकारी दिनुभयो,
“यो वर्ष मात्र हामीले देशका विभिन्न भागहरूमा पुगेर हजारौँ व्यक्तिलाई प्रारम्भिक परीक्षण तथा स्वास्थ्य शिक्षा सेवा दिएका छौं। आगामी दिनमा यो अभियान अझै बिस्तार गर्ने योजना छ।”
नयाँ सेवाहरूको शुभारम्भ
‘हेड एण्ड नेक क्यान्सर डे’ को अवसर पारेर भक्तपुर क्यान्सर अस्पतालमा नयाँ सेवाहरूको शुभारम्भ गरिएको छ।
डेन्टल ओ.पी.डी.
स्तन क्यान्सर वार्ड
यी सेवा उद्घाटन नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की र काठमाडौँ विश्वविद्यालयका निबर्तमान उपकुलपति प्रा. रामकण्ठ मकाजुले संयुक्त रूपमा गर्नुभयो ।
यस्तै,
मनोपरामर्श सेवा
स्पीच एन्ड स्वालोइङ् थेरापि
जस्ता थप सेवाहरू पनि औपचारिक रूपमा सुरु भएका छन्, जसले क्यान्सरपछि शरीर र मनमा हुने असरहरूलाई सम्बोधन गर्न सहयोग पुर्याउनेछ।
समुदायमै पुग्ने प्रतिबद्धता
अस्पतालले क्यान्सर परीक्षण र शिक्षा अभियानलाई ग्रामीण क्षेत्रमा विस्तार गर्दै स्थानीय तहसँग सहकार्यमा स्वास्थ्य शिविरहरू संचालन गरिरहेको जानकारी दिइयो। यस्तो अभियानबाट समयमै परीक्षण गराउने बानी बसाल्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको समापनमा उज्ज्वल चालिसेले भन्नुभयो,
“हामीलाई अस्पतालभित्र मात्र सीमित भएर बस्न मन छैन। हामी समुदायमै पुग्न चाहन्छौं — क्यान्सर आउनुभन्दा पहिले नै उसलाई रोक्ने प्रयासमा।”
भक्तपुर क्यान्सर अस्पतालको यो विशेष कार्यक्रम क्यान्सर बिजेता, चिकित्सक, स्वास्थ्यकर्मी र सर्वसाधारण सबैका लागि ऊर्जा र प्रेरणाको स्रोत बन्यो। नयाँ सेवाहरूको सुरुआत, समुदायमा फैलिएको जनचेतनाको प्रतिबद्धता र साहसी बिरामीहरूको कथा — यी सबैले नेपालमा क्यान्सर उपचारको दिशालाई नयाँ युगतर्फ डो(याउन थालेको संकेत दिन्छ।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
