नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा चिकित्सकीय प्रमाणीकरण विना प्रचार गरिएका केही औषधिजन्य सामग्रीहरू जनस्वास्थ्यका लागि खतरनाक ठहर गर्दै तुरुन्त बजारबाट हटाउन निर्देशन दिएको छ।
विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै ती उत्पादनहरू वैज्ञानिक आधारबिना रोग निको पार्ने दाबी गर्दै भ्रामक प्रचार भइरहेको जनाएको छ। फेसबुक, युट्युब, टिकटक लगायत डिजिटल माध्यमहरूमा थाइराइड, मधुमेह, प्रोस्टेट, युरिक एसिड, मोटोपन, यौन क्षमता, जाँडरक्सीको लत र यहाँसम्म कि क्यान्सरसम्मको उपचार गर्न सक्ने दाबी गर्दै विज्ञापन भइरहेको पाइएपछि विभाग सक्रिय भएको हो।
महानिर्देशक नारायण ढकालद्वारा जारी सूचनामा जनाइएको छ कि यस्ता दाबीहरूले आम नागरिकलाई भ्रममा पार्ने मात्र होइन, प्रयोगकर्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने खतरा छ। विभागले जनाएको अनुसार ती औषधिहरूमा न वैज्ञानिक प्रमाण छन्, न त तिनीहरूको गुणस्तर परीक्षण गरिएको छ।
विभागले औषधि सेवन गर्नु पूर्व अनिवार्यरूपमा चिकित्सकको सल्लाह लिनुपर्नेमा जोड दिएको छ। यसै सन्दर्भमा विभागले निम्न उल्लेखित उत्पादनहरूलाई नक्कली वा अवैज्ञानिक दाबीयुक्त औषधि ठहर गरेको छ
१. पौरुष हेल्थ जीवन
२. पौरुष जीवन
३. डिफ्यूजल –एल
४. कायाप्लस
५. १०० हर्स पावर
६. ३० मिनेट स्टप
७. डायबेटिक कन्ट्रोल
८. जिमनेमा सिलभेस्ट्रे क्याप्सुल
९. बूजी
विभागले सर्वसाधारणलाई यस्ता औषधिहरू नखान र प्रयोग नगर्न आग्रह गरेको छ। साथै, कानुन विपरीत उत्पादन, ओसारपसार वा बिक्रीवितरणमा संलग्न पक्षमाथि कारबाही अघि बढाइएको जनाएको छ। विभागले सबै डिजिटल प्लेटफर्म र सामाजिक सञ्जाल सञ्चालकहरूलाई यस्ता सामग्रीको प्रचार हटाउन चेतावनीसमेत दिएको छ।

चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

