नेभिगेशन

एपोनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको चहलपहल तीब्र

नेपाल हेल्थ न्यूज, काठमाडौं । नेपालका औषधि उत्पादन कम्पनीहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति नजिकिँदै गर्दा संघभित्र चहलपहल बढेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि मतदान भोलि सोमबार दिउँसो १ देखि ३ बजेसम्म हुनेछ।

यो निर्वाचनको संयोजन पूर्व अध्यक्ष प्रज्वलजंग पाण्डे संयोजक रहेको निर्वाचन समितिले गरिरहेको छ। समिति सदस्यमा संघका पूर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेशप्रसाद धिताल रहेका छन्।

निर्वाचन प्रक्रियाः सूक्ष्म व्यवस्थापन
आज आइतबारको दिन निर्वाचन प्रक्रिया अन्तर्गत मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारको नाम दर्ता, र उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गर्ने काम सम्पन्न हुँदैछ।

कार्यतालिका अनुसार

१०ः०० बजे  प्रारम्भिक मतदाता नामावली प्रकाशन

१२ः३० बजे  दाबी विरोधको समयसीमा

१३ः०० बजे अन्तिम मतदाता नामावली प्रकाशन

१३ः३०–१६ः०० बजे उम्मेदवार मनोनयन दर्ता

१६ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन

भोलि सोमबार उम्मेदवारले दाबी विरोध गर्न ९ः०० बजेसम्मको समय पाउनेछन्। उम्मेदवारी फिर्ताको अन्तिम समय ११ः०० बजे तोकिएको छ भने ११ः३० बजे अन्तिम नामावली प्रकाशित हुनेछ।
त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिने बित्तिकै मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ।

१३ पदमा प्रतिस्पर्धाः नेतृत्व चयनको प्रतिस्पर्धा तीव्र
यसपटक संघको १३ वटा पदका लागि निर्वाचन हुन लागेको छ। कार्यसमिति अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–सचिव, सदस्यजस्ता पदहरुमा प्रतिस्पर्धा हुनेछ।

हालको नेतृत्वमाथि प्रभावकारी पहलको अपेक्षा भए पनि केही सदस्यहरू नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्। पछिल्ला वर्षहरूमा औषधि उद्योगले भोग्दै आएको नितिगत अस्थिरता , गुणस्तर नियमनको दोहोरो मापदण्ड, कर संरचना र आयातनिर्यातको व्यवस्थामा संघले अपेक्षित दबाब दिन नसकेको आरोप पनि कतिपय सदस्यहरूबाट उठाइएको छ।

एपोनको वर्तमान भूमिका र भविष्यका चुनौती
नेपालमा औषधि उद्योग विस्तारको एक प्रमुख निकायको रूपमा एपोनको भूमिका रणनीतिक छ। संघमा आवद्ध कम्पनीहरूले देशको आन्तरिक औषधि मागको ५० प्रतिशतभन्दा बढी आपूर्ति गर्दै आएका छन्। तर पछिल्लो समयमा सरकारी खरिद प्रक्रियाको ढिलाइ, ग्लोबल टेण्डर’ प्रणाली र स्वदेशी कम्पनीमाथिको अविश्वासले उद्योगलाई दबाबमा पारेको व्यवसायीहरूको गुनासो छ। यस्तो अवस्थामा नयाँ कार्यसमितिको प्राथमिकता के हुने भन्ने प्रश्नले चासो बढाएको छ।

  • औषधि नीति २०८० को कार्यान्वयन
  • ड्रग्स माफियाविरुद्धको अभियान
  • कच्चा पदार्थ आयात नीति सुधार
  • एक्सपोर्ट प्रमोशन
  • एफडीए स्तरको अनुसन्धान प्रयोगशाला स्थापना

जस्ता एजेण्डाहरूमा नयाँ नेतृत्वले प्रस्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने देखिएको छ।

एपोनको निर्वाचन औषधि उद्योगभित्र मात्र होइन, देशको समग्र स्वास्थ्य नीतिमा समेत प्रभाव पार्ने खालको छ। महामारीपछिको औषधि आपूर्ति श्रृंखला, मूल्य नियन्त्रण नीति र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा घरेलु उत्पादनलाई उभ्याउन सक्ने नेतृत्वको खाँचो अहिले झन् महत्त्वपूर्ण भएको छ।

त्यसैले भोलिको निर्वाचन एउटा औपचारिक प्रक्रिया मात्र नभई नेपालको स्वास्थ्य क्षेत्रमै दीर्घकालीन असर पार्ने नीति निर्माणको थालनी बिन्दु पनि बन्न सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट