नेभिगेशन

सरकारद्वारा व्यवसायजन्य रोगहरूलाई कानुनी मान्यता

नेपाल हेल्थ न्युज, काठमाडौं । पहिलो पटक, सरकारले पेशागत जिम्मेवारीका क्रममा लाग्ने रोगहरूलाई औपचारिक रूपमा ‘व्यवसायजन्य रोग’को रूपमा कानुनी मान्यता दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अन्तर्गत यस्ता रोगहरूको विस्तृत सूची राजपत्रमा प्रकाशित गर्दै ऐतिहासिक निर्णय लिएको हो।

यो पहलमार्फत कार्यस्थलमा धुलो, रसायन, आवाजको असर वा कामको प्रकृतिका कारण देखिने स्वास्थ्य समस्या अब व्यक्तिगत विषय नभई कानुनी सरोकारको रूपमा लिइनेछ। यसले लाखौं श्रमिकको स्वास्थ्य सुरक्षामा सुधार ल्याउनेछ भने रोजगारदातामाथि सुरक्षित कार्य वातावरण निर्माण गर्ने दायित्व थपिनेछ।

राजपत्रमा समावेश गरिएका व्यवसायजन्य रोगहरूलाई सरकारद्वारा आठ श्रेणीमा वर्गीकृत गरिएको छ। ती श्रेणीहरूमा रासायनिक, भौतिक, जैविक, श्वासप्रश्वास प्रणालीसम्बन्धी, छाला तथा हाडजोर्नी, मानसिक तथा व्यवहारिक, र क्यान्सरसम्बन्धी रोगहरू पर्दछन्।

१. रासायनिक कारणले हुने रोगहरू
क्रोमियम, सिसा (लिड), पारा, बेन्जिन, सल्फर अक्साइड, क्लोरीन, औद्योगिक ग्यास तथा अन्य हानिकारक तत्वहरूको सम्पर्कले हुने रोगहरू यसमा समावेश छन्।

२. भौतिक असरबाट उत्पन्न रोगहरू
अत्यधिक ताप, आवाज वा विकिरणको प्रभावका कारण श्रवणशक्ति गुम्नु वा अन्य शारीरिक समस्या पर्नु जस्ता अवस्थाहरू पर्दछन्।

३. संक्रमणजन्य जैविक रोगहरू
पशुपंक्षी वा कार्यस्थलमा प्रयोग हुने उपकरणबाट सर्ने हेपाटाइटिस बी, सी, एचआईभी, टिटानस, क्षयरोग, ब्रुसेलोसिस, एन्थ्रेक्स, र लेप्टोस्पाइरोसिसजस्ता रोगहरू समेटिएका छन्।

४. श्वासप्रश्वाससम्बन्धी रोगहरू
ब्यागासोसिस, साइडरोसिस, निमोकोनियोसिस, र दीर्घकालीन अवरोधक पल्मोनरी रोग (दीर्घकालीन फोक्सो अवरोध रोग) जस्ता दीर्घकालीन समस्याहरू यस श्रेणीमा छन्।

५. छाला र हाडजोर्नीका रोगहरू
डर्माटाइटिस, एलर्जी, टेनोसिनोभाइटिस, कार्पल टनेल सिन्ड्रोमजस्ता रोगहरू यस अन्तर्गत पर्छन्।

६. मानसिक तथा व्यवहारसम्बन्धी रोगहरू
कामको क्रममा दुर्घटना वा हिंसात्मक घटनाबाट सिर्जना हुने मानसिक समस्या, जस्तै आघातजन्य मानसिक तनाव रोग समेटिएको छ।

७. व्यवसायजन्य क्यान्सर
एस्बेस्टोस, कोइला टार, बेन्जिन, विकिरण, काठको धुलो, आर्सेनिक, क्याडमियम, र अन्य हानिकारक रसायनको सम्पर्कबाट हुने क्यान्सरसम्बन्धी जोखिमहरू समावेश गरिएको छ।

श्रम ऐन २०७४ को परिच्छेद १२ अनुसार, यदि कुनै श्रमिकलाई यस्तो व्यवसायजन्य रोग लाग्छ भने सम्बन्धित प्रतिष्ठानले उपचार खर्च वा, यदि उपचार सम्भव नभएमा, तोकिएको क्षतिपूर्ति रकम प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तो छन् सरकारले राजपत्रमा प्रकाशित गरेको रोगहरूको सूची:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट