नेपाल हेल्थ न्युज, काठमाडौं । डेंगु संक्रमणका कारण एक युवतीको मृत्यु भएको छ। टेकु अस्पतालमा उपचाररत २४ वर्षीया महिलाको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो।डेंगु संक्रमित ती युवती मंगलबार साँझ अस्पताल भर्ना भएकी थिइन्। अस्पतालका प्रमुख चिकित्सक डा. विमल चालिसेका अनुसार अस्पताल पुग्दा नै उनको स्वास्थ्य अवस्था गम्भीर थियो।
डा. चालिसेका अनुसार, “आईसीयूमा राखेर उपचार गरियो, तर बुधबार बिहान उनको निधन भयो।” यो वर्ष डेंगु संक्रमणबाट मृत्यु हुने पहिलो घटना हो। अहिलेसम्म यस वर्षमा देशभर २,९५२ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। डेंगु ७४ जिल्लामा फैलिसकेको छ र पछिल्लो सात दिनमा मात्र १८० नयाँ संक्रमित थपिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु देखिएको छ।
नेपालमा डेंगु संक्रमण पहिलो पटक २००४ मा चितवनमा देखिएको थियो। त्यसयता यो रोग तराई र भित्री मधेशका विभिन्न जिल्लामा फैलिएको छ। विशेषगरी २०२० मा धरानबाट फैलिएको डेंगु संक्रमणले करिब १८ हजारलाई प्रभावित पारेको थियो र ४३ जिल्लामा फैलिएको यस संक्रमणका कारण १२ जनाको मृत्यु भएको थियो।
बर्षेनि डेंगुको संक्रमण बढ्दै गइरहेको छ र अहिले यो रोग स्थानीय स्तरमा समेत फैलिन थालिसकेको छ। सन् २०२२ मा ७७ जिल्लामा फैलिएको डेंगु संक्रमणले ५४ हजारभन्दा बढी जनालाई संक्रमित बनाएको थियो र ८८ जनाको मृत्यु भएको थियो।
डेंगु संक्रमित लामखुट्टे खासगरी सफा पानी जम्ने ठाउँमा अण्डा पार्छन्। वर्षाको पानी जम्ने स्थान, फालेका बोतल, टायर, खाली ड्रम र गमलामा अण्डा पार्ने यस रोगका सारक लामखुट्टेको संख्या बढ्नाले संक्रमण जोखिम बढिरहेको छ।
डेंगु संक्रमण भएका बिरामीलाई साधारणतया २ देखि ७ दिनसम्म ज्वरो आउने गर्दछ। ज्वरो कम भएपछि २४ देखि ४८ घण्टा क्रिटिकल अवस्था मानिन्छ जहाँ रक्तस्राव र रक्तचाप घट्ने समस्या देखिन सक्छ।
डेंगु संक्रमितलाई श्वासप्रश्वासमा समस्या, पेट दुख्ने, रक्तस्राव जस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल सम्पर्क गर्न चिकित्सकहरू सुझाव दिन्छन्। डेंगु नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको खोज तथा नष्ट अभियान हो जसमा समुदायको सहयोग आवश्यक हुन्छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
