नेपाल हेल्थ न्युज, काठमाडौं । विद्यालय तहको स्वास्थ्य शिक्षालाई थप वैज्ञानिक, व्यवहारिक र समयानुकूल बनाउनका लागि तयार पारिएको समीक्षा प्रतिवेदन आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ।
स्वास्थ्य मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्रालयका मन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको अगुवाइमा तयार पारिएको उक्त प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको हालको स्वास्थ्य शिक्षाको गहिरो विश्लेषण गर्दै आवश्यक सुधारका लागि सिफारिसहरू प्रस्तुत गरेको छ।
मन्त्री पौडेलले कार्यक्रममा स्वास्थ्य शिक्षा प्रारम्भिक तहदेखि नै प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै विद्यालय शिक्षालाई स्वस्थ जीवनशैलीको जगका रूपमा वर्णन गर्नुभयो।
उहाँले भन्नुभयो, “स्वास्थ्य भनेको अस्पतालमा मात्र सीमित रहने कुरा होइन, यो त घर र विद्यालयबाट नै सुरु हुने चेतनाको विषय हो।”
उहाँले विद्यालय स्तरमै बालबालिकामा सही स्वास्थ्य चेतना विकास गर्न सके, उनीहरू भविष्यमा समाजमा सकारात्मक परिवर्तन ल्याउने सक्ने विश्वास व्यक्त गर्नुभयो। “बाल्यकालदेखि नै यस्ता जानकारी दिन सक्यौं भने, ती बालबालिका आफैं र आफ्नो वरपरको समाजका लागि परिवर्तनका वाहक बन्न सक्छन्,” मन्त्री पौडेलको भनाइ थियो।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले प्रतिवेदन ग्रहण गर्दै स्वास्थ्य मन्त्रालयको प्रयासको प्रशंसा गर्दै भन्नुभयो, “स्वास्थ्य जस्तो गम्भीर र प्रविधिमा आधारित विषयमा सरोकारवाला मन्त्रालयबाट प्राप्त सुझावहरू हामीलाई पाठ्यक्रम सुधारका लागि मार्गदर्शक बन्नेछन्।”
रिपोर्ट तयार पार्ने क्रममा शिक्षा तथा स्वास्थ्य क्षेत्रका विभिन्न निकाय, विश्वविद्यालय, अभिभावक संगठन, युनिसेफ लगायत संयुक्त राष्ट्रसंघीय निकायहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट समेत सुझाव लिइएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशव राज पण्डितले जानकारी दिनुभयो।
कार्यक्रममा मन्त्रालयका सचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, युनिसेफका प्रतिनिधि लगायत सरोकारवालाहरूको उपस्थिति थियो।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
