नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिबन्धित र गुणस्तरहीन औषधी आयात गरी विक्री वितरण गरेको आरोपमा सफल स्वास्थ्य सेवा प्रा.लि.माथि औषधी व्यवस्था विभागले छानबिन सुरु गरेको छ।
विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकालका अनुसार, प्रारम्भिक अनुसन्धानमा कम्पनीले नेपालमा प्रतिबन्धित औषधी अस्पतालहरूमा आपूर्ति गरेको पुष्टि भएसँगै फार्मेसी अधिकृत सुपुष्प लामाको संयोजकत्वमा विशेष छानबिन समिति गठन गरिएको हो।
एक साताअघि विभागको टोलीले कलंकीस्थित कम्पनीको कार्यालयमा अनुगमन गर्दा अनाधिकृत रूपमा भित्र्याइएको जीवनरक्षक औषधीको मौज्दात फेला परेको थियो। छापाका क्रममा बरामद गरिएका कम्प्युटर र कागजातहरूको अध्ययनबाट ती औषधीहरू विभिन्न अस्पतालहरूमा आपूर्ति गरिएको प्रमाण भेटिएको विभागले जनाएको छ।
विवादास्पद औषधी भ्लेक्जोन-१ ग्राम भारतीय कम्पनी भ्यालेन्ट्रोन हेल्थ केयरद्वारा उत्पादन गरिएको हो। गुणस्तर परीक्षणमा असफल भएपछि विभागले गत २१ जेठ २०८२ मा यस औषधीको आयात अनुमति रद्द गरिसकेको थियो।
तर अनुमति नवीकरण नभएको अवस्थामा पनि कम्पनीले ३ असार २०८२ मा बैंक, थानकोट शाखाबाट एलसी खोलेर ठूलो परिमाणमा औषधी आयात गरिरहेको प्रमाण फेला परेको छ।
विभागका अनुसार, प्रतिबन्धित औषधी आयातको विषयमा सार्वजनिक जानकारी दिन बाँकी भए पनि हाल अनुसन्धानको प्रकृया अघि बढिरहेको छ। प्रारम्भिक छानबिनमा मात्र १ लाख ६५ हजार १५ भाइल इन्जेक्सन मौज्दात रहेको पाइएको छ।
औषधी व्यवस्था विभागले सफल स्वास्थ्य सेवा प्रालिले ल्याएको सो औषधीको विषयलाई सार्वजनिक सूचनाको रुपमा बाहिर ल्याउन सकेको छैन । ठुलो परिमाणमा औषधी आयात गर्न एलसी खोल्न पर्छ । तर यसका लागि आयात अनुमति पत्र अनिवार्य हुन्छ ।
औषधी ऐन तथा नियमावली अनुसार आयात अनुमति विना औषधी ल्याउनु गैरकानुनी हो। यस मामिलामा संलग्न कम्पनी र व्यक्तिहरूलाई विभागले बयानका लागि बोलाउने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।
चिकित्सकको आन्दोलनपछि पर्सामा एसपी हेरफेर, भट्टराई पुगे प्रमुखको जिम्मेवारीमा
बुधबार, साउन १३, २०८३
चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
बुधबार, साउन १३, २०८३
पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध
बुधबार, साउन १३, २०८३
लामो समयपछि स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न
बुधबार, साउन १३, २०८३
