नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिस को संक्रमणबाट पछिल्लो समय मृत्युदर उच्च देखिएको छ। पुस महिनादेखि हालसम्म यो रोगका कारण २३ जनाले ज्यान गुमाएका छन् भने ११३ जना संक्रमित भएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाबाट प्राप्त तथ्यांक अनुसार देशभरका ३६ जिल्लामा यो रोग फैलिएको पुष्टि भएको छ। क्षेत्रगत रूपमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा संक्रमण देखिएको छ, जहाँ ३७ जना संक्रमित भएका छन्। त्यसपछि बागमतीमा १८, कोशीमा १७, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णालीमा २ जना संक्रमित भेटिएका छन्।
मृत्युको हिसाबले पनि लुम्बिनी प्रदेश सबैभन्दा प्रभावित भएको छ। त्यहाँ ८ जनाको मृत्यु भएको छ। त्यस्तै बागमतीमा चार, गण्डकी प्रदेशमा चार, कोशीमा तीन, मधेशमा तीन, र सुदूरपश्चिममा १ जनाको मृत्यु भएको छ।
विशेषज्ञहरूका अनुसार यो रोग साउनदेखि कार्तिक महिनासम्म बढी सक्रिय हुने गर्छ। संक्रमितमध्ये झण्डै १५ देखि ३० प्रतिशतको ज्यान जान सक्छ भन्ने आँकडा छ।
विश्व स्वास्थ्य संगठनकी नेसनल सर्भिलियन्स अफिसर डा. सोनिया भगतका अनुसार यो रोग मस्तिष्कमा असर गर्ने प्रकारको भाइरल इन्सेफलाइटिस हो, जुन क्युलेक्स जातिको लामखुट्टेको टोकाइबाट सर्छ। लामखुट्टेले संक्रमित सुँगुर, चरालगायत जनावरलाई टोकेपछि मानिसमा संक्रमण सार्ने गर्छ।
गम्भीर अवस्थामा यो रोगले मस्तिष्क सुन्निने, बेहोस हुने, पक्षघात हुने, यहाँसम्म कि बिरामीलाई कोमामा पुर्याउनेसम्मका असर देखिने गर्छ।
सावधानी अपनाउन चिकित्सकको सुझाव
- लामखुट्टेबाट जोगिन झुल प्रयोग गर्ने
- लामो बाहुला भएका कपडा लगाउने
- लामखुट्टे धपाउने मलम वा स्प्रे प्रयोग गर्ने
- घर वरिपरि पानी जम्न नदिने
- झाडी तथा फोहोर हटाउने
- पानी भण्डारण गर्ने भाँडाहरू राम्रोसँग छोपेर राख्ने
यो रोगको विशेष उपचार नभएको हुँदा रोकथाम नै उत्तम उपाय मानिन्छ। नेपाल सरकारले यो रोग विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरी १२ महिनाका बालबालिकालाई निःशुल्क खोप दिँदै आएको छ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
