नेभिगेशन

निजामती कर्मचारीको स्वास्थ्य उपचार अब स्वास्थ्य बिमा बोर्डमार्फत

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी निजामती कर्मचारी र कर्मचारीको परिवारका सदस्यको स्वास्थ्य उपचार अब स्वास्थ्य बिमा बोर्डमार्फत हुने भएको छ।

संघीय निजामती सेवा विधेयकमा गरिएको नयाँ व्यवस्थाअनुसार अब निजामती कर्मचारीले योगदानमा आधारित स्वास्थ्य बिमा योजना अन्तर्गत स्वास्थ्य सेवा लिन सक्नेछन्।

अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा ल्याइएको निजामती सेवा विधेयकमा 'नेपाल सरकारका निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि प्रचलित कानुनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागू गर्ने व्यवस्था’ गरिएको उल्लेख थियो। यो व्यवस्थालाई प्रतिनिधि सभाले यथावत राखेको थियो।

निजामती सेवा विधेयकबारे राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठकमा छलफल गरिएको थियो। उक्त छलफलले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारको सदस्यको औषधि उपचारका लागि स्वास्थ्य बिमासम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बिमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बिमा योजना लागू गर्ने’ व्यवस्था गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चासोपछि मन्त्रालयले औपचारिक पत्रमार्फत सुझाव दिएको थियो कि निजामती कर्मचारी र उनीहरूका परिवारका लागि स्वास्थ्य बिमा बोर्ड नै उपयुक्त हुने छ। सोही अनुरूप समितिले संशोधन गरेको छ।

संशोधित विधेयकअनुसार अब निजामती कर्मचारीको स्वास्थ्य उपचारमा स्वास्थ्य बिमा सम्बन्धी प्रचलित कानुनअनुसार सञ्चालित योजना लागू हुनेछ। यसले सरकारी कर्मचारीहरूलाई औषधि उपचारमा थप सहजता आउने र स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट