नेभिगेशन

भेरी अस्पतालमा मस्तिष्कघातका बिरामीलाई निःशुल्क 'अल्टेप्लेज' इन्जेक्सन दिइने

नेपाल हेल्थ न्युज, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघात (स्ट्रोक) भइ उपचारका लागि आउने बिरामीहरूलाई अब अल्टेप्लेज नामक जीवनरक्षक इन्जेक्सन निःशुल्क दिइने भएको छ। अस्पतालका वरिष्ठ फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेका अनुसार, समयमै यो इन्जेक्सन दिइए बिरामीलाई पक्षघात (प्यारालाइसिस) हुने सम्भावना धेरै घट्छ र उनीहरू सामान्य अवस्थामा फर्कन सक्ने सम्भावना उच्च हुन्छ।

डा. पाण्डेले बताएअनुसार मस्तिष्कघातको प्रारम्भिक लक्षण देखिएपछि साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल ल्याउन सकेमा अल्टेप्लेज इन्जेक्सन अत्यन्त प्रभावकारी साबित हुन्छ।

करिब ८० हजार रुपैयाँ पर्ने यो औषधि आर्थिक रूपमा कमजोर नागरिकका लागि सजिलै उपलब्ध नहुने भएकाले अस्पतालले यसलाई निःशुल्क उपलब्ध गराउने निर्णय लिएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले प्रारम्भिक चरणमा २० भायल इन्जेक्सन प्राप्त भइसकेको जानकारी दिनुभयो। यसअघि काठमाडौँ र भरतपुरका सरकारी अस्पतालमा मात्र उपलब्ध रहेको यो सेवा भेरी अस्पतालमा पनि विस्तार गरिएको हो।

डा. सुवेदी र डा. पाण्डे लगायतको सक्रिय पहलमा अब नेपालगन्ज मात्र होइन, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख लगायतका वरपरका जिल्लाका स्ट्रोक बिरामीहरूलाई समेत ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

हालै स्वास्थ्य मन्त्रालयले मस्तिष्कघातको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि लागू गरेको छ। यसले छिटो, प्रभावकारी र समन्वित उपचार सुनिश्चित गर्नुका साथै बिरामी र परिवारलाई समयमै अस्पताल पुर्‍याउने र प्राथमिक उपचारबारे सचेत गराउने लक्ष्य लिएको छ।

चिकित्सकहरूका अनुसार मस्तिष्कघातको जोखिम, प्रारम्भिक लक्षण, र तुरुन्तै लिनुपर्ने कदमबारे जनचेतना फैलाउनु अत्यावश्यक छ, जसले ज्यान जोगाउन निर्णायक भूमिका खेल्न सक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट