नेपाल हेल्थ न्युज, काठमाडौं । राजनीतिक परम्परागत ढाँचालाई तोड्दै जेन-जी पुस्ताले मन्त्री चयनका लागि अनलाइन लोकतान्त्रिक प्रक्रिया अघि सारेका छन्। अबका मन्त्रीहरू सामाजिक सञ्जाल प्लेटफर्म ‘डिस्कोर्ड’ जस्ता माध्यमबाट खुला भोटिङ प्रणालीमार्फत चुन्ने तयारी गरिएको छ।
यस प्रक्रियामा सर्वसाधारणले नै मन्त्री पदका लागि योग्य उम्मेदवारहरूको नाम प्रस्ताव गर्न पाउनेछन्। प्रस्तावित व्यक्तिहरूको पृष्ठभूमि, विज्ञता, र जनप्रतिनिधि बन्ने योग्यता मूल्याङ्कन गरिनेछ।
जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङका अनुसार, उम्मेदवारहरू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका, उच्च नैतिक छवि भएका र नागरिक समस्या बुझ्नसक्ने हुनु आवश्यक छ। उमेर ५० वर्षभन्दा कम हुनुपर्ने, सार्वजनिक उत्तरदायित्व वहन गर्न सक्ने आँटिलो नेतृत्वका व्यक्तिहरू मात्र अन्तिम सूचीमा पर्नसक्नेछन्।
योग्य व्यक्तिहरूलाई अनलाइन भोटिङको लागि पेश गरिनेछ। जुन मन्त्रालयको जिम्मेवारीका लागि भोट गरिन्छ, त्यही अनुसार सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवारले मन्त्रीको जिम्मेवारी पाउनेछन्। उदाहरणका लागि, स्वास्थ्य मन्त्रालयका लागि यदि पाँच उम्मेदवारहरू अगाडि सारिन्छन् भने, तिनमा सबैभन्दा धेरै भोट ल्याउने व्यक्ति स्वास्थ्य मन्त्री बन्नेछन्।
स्वास्थ्य मन्त्रालयका लागि केही अनुभवी नामहरू चर्चामा छन्, डा. सन्दुक रुइत, डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. गोविन्द केसी, डा. भोला रिजाल जस्ता वरिष्ठ चिकित्सकहरूको नाम सार्वजनिक बहसमा आएको छ।
तर जेन-जीको प्राथमिकता भने युवाशक्ति र नवीन सोचमा केन्द्रित छ। आन्दोलनमा सक्रिय युवाहरू ५० वर्षमुनिका, स्वास्थ्य क्षेत्रमै कार्यरत, तर दलगत राजनीतिबाट टाढा रहेका व्यक्तिलाई मन्त्री बनाउने पक्षमा छन्।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीको आग्रह अनुसार मन्त्रिपरिषद गठन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। युवाहरूले नेतृत्व गर्ने वातावरण तयार पारिन्छ, कार्कीले जेन-जी प्रतिनिधिहरूसँगको छलफलमा स्पष्ट पार्नुभयो। उहाँले मन्त्रिपरिषद गठन नहुँदासम्म पदभार नलिने निर्णय समेत सुनाउनुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका क्रममा घाइते भएकाहरूसँग भेट गरी उहाँहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको थियो। त्यससँगै, उहाँले महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण पनि गरिसक्नुभएको छ।
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३

