नेभिगेशन

भेरी अस्पताललाई स्वास्थ्य बीमा बोर्डबाट २० करोड रुपैयाँ भुक्तानी लिन बाँकी

नेपाल हेल्थ न्युज, नेपालगञ्ज । भेरी अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट करिब २० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएको छ। बीमा योजनामार्फत उपचार सेवा प्रदान गरेबापत अस्पतालले पाउनुपर्ने रकम समयमा नआउँदा सेवा प्रवाहमा गम्भीर समस्या आउन थालेको अस्पताल प्रशासनले जनाएको छ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार, गत असार मसान्तसम्मको साढे १६ करोड र साउन महिनाको १ करोड ९० लाख गरी करीब १८ करोड रुपैयाँ बीमा बोर्डबाट पाउनुपर्ने भुक्तानी अझै बाँकी छ। साथै, सामाजिक सेवा एकाइ अन्तर्गतको डेढ करोड रुपैयाँसमेत अस्पताललाई दिन बाँकी रहेको छ।

उहाँका अनुसार, हाल अस्पतालको करिब ६० प्रतिशत बिरामीहरूले बीमाको सेवा लिइरहेका छन्। तर, पुरानो भुक्तानी नआएकाले ल्याब र फार्मेसीजस्ता आधारभूत सेवा सञ्चालनमा नै समस्या आइरहेको छ।

बक्यौता रकम नआउँदा सप्लायर्सहरूले औषधि तथा उपकरण आपूर्ति गर्न अस्वीकार गर्न थालेका छन्, जसले गर्दा अस्पतालको सेवा प्रभावमा पर्ने खतरा बढेको छ।

अर्कोतर्फ, बीमा सेवाबाट लाभ लिन आएका बिरामीहरू भने महँगो औषधि बीमाले नदिने, बाहिरबाट किन्नुपर्ने बाध्यता भएको भन्दै गुनासो गरिरहेका छन्। उनीहरूका अनुसार, चिकित्सकले सिफारिस गरेको महँगो औषधि बीमामा परेन भने, खर्च आफैंले व्यहोर्नुपर्ने बाध्यताले समस्या झनै बढाएको छ।

सेवाग्राहीहरूले सस्तो औषधि मात्र नभई आवश्यक सबै प्रकारका औषधि बीमा अन्तर्गत उपलब्ध गराउन माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट