नेभिगेशन

 स्वास्थ्य मन्त्री भएमा ६ महिनाभित्र सरकारी तथा निजी स्वास्थ्य सेवा निःशुल्क बनाउँछुः डा. निकोलस भुसाल

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सक तथा सामाजिक अभियन्ता डा. निकोलस भुसालले आफू स्वास्थ्य मन्त्री भएमा ६ महिनाभित्रै सरकारी र निजी दु्वै स्वास्थ्य सेवा पूर्णरूपमा निःशुल्क बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषी धमलाले स्वास्थ्य मन्त्री भएमा के के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा अब कुनै पनि नेपाली नागरिकले केवल पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नरहने उनले स्पष्ट रूपमा घोषणा गरेका छन्। 

डा. भुसालले नेपालको वर्तमान स्वास्थ्य प्रणालीमा सुधारको गम्भीर आवश्यकता रहेको उल्लेख गर्दै, स्वास्थ्य बीमा प्रणालीलाई सबैका लागि अनिवार्य र समान रूपले लागू गर्ने बताए। उनका अनुसार बीमा प्रणालीलाई प्रभावकारी बनाएर सरकारी र निजी स्वास्थ्य संस्थाहरूलाई एउटै मापदण्डमा ल्याइनेछ, जसले सेवा गुणस्तरमा एकरूपता ल्याउनेछ र बिरामीको चाप पनि सन्तुलित हुनेछ।

उनले देशभरका दुर्गम र पहुँचविहीन क्षेत्रहरूमा विशेषज्ञ सेवा पुर्‍याउने उपायको रूपमा टेलीमेडिसिन प्रणालीको सशक्त प्रयोग गर्ने प्रस्ताव गरे। “हुम्ला, जुम्ला, भोजपुर वा ताप्लेजुङ — अब कुनै ठाउँ पनि सेवा बिहीन हुँदैन। टेलीमेडिसिनमार्फत विशेषज्ञ सेवा सिधा गाउँगाउँमा पुर्‍याइन्छ,” उनले भने।

डा. भुसालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएका तर हालसम्म सञ्चालनमा नआएका ३४५ वटा अस्पतालको प्रसंग उठाउँदै ती सबै स्वास्थ्य संस्थाहरूलाई तत्काल सञ्चालनमा ल्याउने बताए। उनका अनुसार अस्पताल बनाउनु मात्र पुग्दैन, सेवा दिनु जरुरी छ।

स्वास्थ्य सेवा प्रणालीलाई आधुनिक र समावेशी बनाउने लक्ष्यसाथ उनले आयुर्वेद, एलोपेथी, प्राकृतिक चिकित्सा (नेचुरोपेथी) लगायतका सबै उपचार विधिलाई एकीकृत गरेर ‘समग्र स्वास्थ्य प्रणाली’ निर्माण गर्ने योजना सार्वजनिक गरे। यसले परम्परागत उपचार पद्धतिलाई वैज्ञानिक आधारमा पुनर्स्थापित गर्ने उनको भनाइ छ।

अर्कोतर्फ, उनले नेपालको औषधि क्षेत्रमा देखिएको आयातमा निर्भरता अन्त्य गर्ने अठोट समेत व्यक्त गरे। “बर्सेनि चार हजार करोड रुपैयाँभन्दा बढीको औषधि हामी विदेशबाट ल्याइरहेका छौं। अब त्यो अवस्थालाई उल्टाएर नेपालमै उत्पादन गर्नेछु,” उनले दृढताका साथ भने। उनका अनुसार देशमा कच्चा पदार्थ, दक्ष जनशक्ति र प्रविधि पनि उपलब्ध छ, कमी केवल इच्छाशक्ति र नीतिको हो।

डा. भुसालले विदेशिने डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरूको विषयमा पनि बोले। उनले भने, “आफ्नै देशमा सेवा दिन पाउने वातावरण छैन भनेर हजारौं दक्ष जनशक्ति विदेशिन बाध्य छन्। अब उनीहरूलाई यहीँ सम्मान, रोजगारी र अवसर दिनेछु।” यसका लागि नीतिगत सुधार र आधारभूत संरचना विकासमा उनले प्राथमिकता दिने बताए।

स्वास्थ्य क्षेत्रसँगै शैक्षिक पूर्वाधारमा पनि जोड दिँदै उनले देशका प्रत्येक जिल्लामा मेडिकल, इन्जिनियरिङ र संस्कृत कलेज स्थापना गर्ने योजना प्रस्तुत गरे। “नेपाललाई केवल हिमाल, नदी, जंगलको देश होइन, ज्ञान र साधनाको भूमि बनाउँछु,” उनले भने।

उनले स्वास्थ्य क्षेत्रमा सरकारको लगानी बढाउने, बीमाबाट बाँकी रहेको रकमको सदुपयोग गर्ने र आवश्यक स्रोत नभएको अवस्थामा देश–विदेशमा रहेका नेपालीहरूमार्फत सहकार्य र सहयोग संकलनको समेत तयारी रहेको बताए। साथै, नेपालको जडीबुटी, खानी, वनजंगल जस्ता प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र वैज्ञानिक प्रयोगमार्फत आयुर्वेदमा आत्मनिर्भरता हासिल गरिने उनको स्पष्ट अभिव्यक्ति छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट