नेभिगेशन

दुई दिनको बिदामध्ये एक दिन कटौती— सोमबारबाट कार्यालय सञ्चालन 

नेपाल हेल्थ न्युज, काठमाडौँ । लगातारको वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाका सबै प्रकारका सरकारी कार्यालयहरू आजदेखि सञ्चालनमा आएका छन्।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार राति जारी गरेको अत्यावश्यक सूचनामा मौसममा सुधार आएपछि सरकारले दिएको दुई दिनको सार्वजनिक बिदामध्ये एक दिन कटौती गर्दै सोमबार (असोज २० गते) बिहान १० बजेदेखि कार्यालय समयसम्म सबै सरकारी, संस्थागत र स्थानीय तहका कार्यालयहरू खुला रहने जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले राति १० बजे जारी गरेको सूचनामा भनिएको छ,

“विगत दुई दिनदेखिको लगातार भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरू अवरुद्ध भएका र उद्धार तथा राहत कार्यमा बाधा पुगेको भए पनि अहिले मौसममा सुधार भइसकेकोले सोमबारदेखि सबै कार्यालयहरूले नियमित सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।”

यससँगै, ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि ललितपुर जिल्लाका सबै प्रकारका सरकारी कार्यालय सोमबारदेखि खुल्ने सूचना सार्वजनिक गरेको छ। सो सूचना कार्यालयका सूचना अधिकारी भरतकुमार वलीले जारी गरेका हुन्।

यसअघि गृह मन्त्रालयले विपद्‌ जोखिम तथा प्रतिकार्यमा संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको थियो। मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आइतबार जारी गरेको सूचनामा सो व्यवस्था उल्लेख गरिएको छ।

यो वर्ष असोज १७ गतेदेखि परेको लगातार वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका थिए। ती जिल्लामा अझै पनि विपद्‌ जोखिम तथा राहत कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट