नेपाल हेल्थ न्युज, बागलुङ। चिकित्सा क्षेत्रमा योगदान पुर्याउने चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र सामाजिक अगुवाहरूलाई डा. तरुण पौडेल चिकित्सा कोषले सम्मान गरेको छ।
बागलुङमा सम्पन्न कोषको १३औं वार्षिकोत्सव तथा १०औं पुरस्कार सम्मान कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पुरस्कार तथा सम्मान वितरण गर्नुभएको थियो ।
सो अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्रका अवकाशप्राप्त डा. पुकारचन्द्र श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको थियो। बागलुङ नगरपालिका–३ का स्थायी निवासी डा. श्रेष्ठले बेलायतमा अध्ययनपछि फर्केर नेपालमा मानव अङ्ग प्रत्यारोपणको शुरुवात् गर्नुभएको थियो । भक्तपुरस्थित शहीद धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्रमा हालसम्म १,६०० भन्दा बढी अङ्ग प्रत्यारोपण भइसकेका छन्।
डा. श्रेष्ठले मिर्गौला, कलेजो र फियोलगायत अङ्ग प्रत्यारोपणमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले नेपालमा मिर्गौला पीडितको जीवन डायलायसिस र प्रत्यारोपण दुवै माध्यमबाट बचाउन सफल नेतृत्व दिनुभइको थियो ।
त्यसैगरी बैतडीकी अनमी शान्तिकुमारी पुजारालाई पनि असाधारण मानवीय कार्यका लागि सम्मान गरिएको छ। उहाँले जन्मेदेखि नरोएका शिशुलाई लगातार ६ घण्टा मुखमार्फत कृत्रिम श्वास दिएर ज्यान बचाउनुभएको थियो। हेलिकोप्टरमार्फत उद्धार सम्भव नभएपछि उहाँले रातभरको प्रयासले शिशु जीवित राख्न सफल हुनुभएको थियो ।
यस्तै, पोखराका सिनियर अहेव जयप्रसाश कोइरी, बुटवलका अनुपमान सैजु तथा पोखरा–लेखनाथका समाजसेवी दम्पती रेवतीरमण पौडेल र शान्ति पौडेललाई पनि समाजसेवा र स्वास्थ्य योगदानको कदर स्वरूप सम्मान गरिएको हो। सबैलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको थियो।
कोषले धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानका मौषम थापा र सुरेश पौडेललाई उत्कृष्ट विद्यार्थीका रूपमा पाँच–पाँच हजार रुपैयाँसहित सम्मान गरेको छ।
२०७० सालदेखि स्थापना भएको डा.तरुण पौडेल चिकित्सा कोषले ग्रामीण क्षेत्रमा सेवा पुर्याउने चिकित्सक, अहेव, अनमी र स्वास्थ्यकर्मीहरूलाई हरेक वर्ष खोजी गरी सम्मान गर्दै आएको छ।
कोषका अध्यक्ष काजी रोशनका अनुसार कोषले स्वतन्त्र रूपमा स्वास्थ्य क्षेत्रमा निःस्वार्थ रूपमा कार्यरत व्यक्तिहरूको पहिचान गरी सम्मान गर्ने कार्य निरन्तर गर्दै आएको छ।
राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य सम्झौता
आइतबार, भदौ २८, २०८३
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
