नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार प्रक्रिया सरल बनाउन नयाँ व्यवस्था लागू गरेको छ । अब कडा प्रकृतिका रोगका बिरामीले एकपटक मात्रै प्रथम सेवा विन्दु (एफएसपी) बाट रेफर गराएपछि सोही अस्पतालमा फलोअप उपचारका लागि पुनः रिफर लिनु नपर्ने भएको छ ।
बीमितहरूबाट आएका विभिन्न प्रक्रिया–सम्बन्धी समस्या र गुनासा समाधान गर्न बोर्डले हालै ९ बुँदे निर्णय जारी गरेको छ । बोर्डका अनुसार यो निर्णयले बीमितको उपचार सहज बनाउने र प्रशासनिक झन्झट घटाउनेछ।
उपसचिव पुण्यमाया गुरागाईंका अनुसार एकपटक रेफर भइसकेका बिरामीलाई पुनः त्यही रोगको फलोअपका लागि अर्को रेफर आवश्यक नपर्ने व्यवस्था गरिएको छ। सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यसबारे पत्राचार गरी जानकारी गराइएको उनले बताइन्।
बोर्डले क्यान्सर, मुटु, मिर्गौला, हेड वा स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर लगायत गम्भीर रोगहरूका लागि एकपटक मात्र रेफर आवश्यक हुने स्पष्ट पारेको छ। फलोअप उपचारमा भने सोही रेफर पर्याप्त ठहरिनेछ।
यस्तै, अति गरिब परिचयपत्र भएका परिवार, अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल क्षयरोगी, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सो सुविधा लागू हुनेछ।
आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या, जटिल प्रसूति वा सिजेरियन हुने गर्भवती महिला, दम, सिजोफ्रेनिया र बाइपोलर डिसअर्डरजस्ता मानसिक रोगका बिरामीहरूलाई पनि फलोअपका लागि पुनः रिफर लिनु नपर्नेछ।
यदि उपचारको क्रममा अर्को रोगको परीक्षण आवश्यक परेमा सोही अस्पतालभित्रको सम्बन्धित विभागमा रेफर गरी सेवा लिन सकिनेछ। तर, उक्त नयाँ विभागमा फलोअप उपचार आवश्यक परे भने पुनः रेफर लिनुपर्नेछ।
ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति र शारीरिक रूपमा कमजोर बीमितहरूलाई सहज र सुनिश्चित सेवा उपलब्ध गराउन अस्पतालहरूलाई विशेष व्यवस्था मिलाउन निर्देशन दिइएको छ। साथै, अस्पतालले बिरामीको प्रेस्क्रिप्सनमा फलोअप मिति वा अवधि उल्लेख गर्नुपर्ने र क्लेम गर्दा पहिलो रेफर नम्बर अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार हाल देशभर ३७७ वटा प्रथम सेवा विन्दु र ९८ वटा रिफरल अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा प्रदान भइरहेको छ। 
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
