नेपाल हेल्थ न्युज, लमजुङ । गत भदौ २३ र २४ गते देशभर भएको ‘जेनजी आन्दोलन’का क्रममा घाइते भएका लमजुङका सात जनालाई उपचार खर्च उपलब्ध गराइने भएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना जारी गर्दै घाइतेहरूलाई परिचयपत्रसहित उपस्थित भई बीस हजार रुपैयाँ बराबरको भैपरी खर्च लिन आह्वान गरेको हो ।
कार्यालयका अनुसार गृह मन्त्रालयबाट प्राप्त विवरणमा लमजुङ स्थायी ठेगाना भएका सात जना घाइतेको नाम समावेश छ । तीमध्ये दोर्दी–१ भारतेका सुजन अधिकारी नेकपा (एमाले) लमजुङ जिल्ला कमिटीका सदस्यसमेत हुन् ।
अन्य घाइतेहरूमा प्रभात गुरुङ, सुस्मिता गुरुङ, सुजन पौडेल, विनय घले, मध्यनेपालका अरुष गुरुङ र बेसीशहरका सुजन परियार रहेका छन् । उनीहरूको उपचार काठमाडौँ, पोखरा, चितवन र तनहुँका विभिन्न अस्पतालमा भएको जनाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार माथिल्लो निकायबाट प्राप्त विवरणमा केही घाइतेको ठेगाना अस्पष्ट रहेकाले सूचना जारी गरिएको हो । “परिचय खुल्न सकेका सबैलाई सम्पर्क गरिँदैछ,” गौतमले बताए, “उनीहरूले स्वयम् उपस्थित भएर औँठाछाप दिनुपर्ने भएकाले व्यक्तिगत रूपमा आउनु आवश्यक छ।”
घाइतेले भुक्तानीका लागि नेपाली नागरिकताको प्रतिलिपि, उपचारसम्बन्धी कागजात, दुई थान फोटो र आफ्नो नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि ल्याउनुपर्ने बताइएको छ । विशेष अवस्थामात्रै परिवारका सदस्यमार्फत आवश्यक प्रक्रिया अघि बढाउन सकिने सूचनामा उल्लेख छ ।
देशभर भएको आन्दोलनका क्रममा लमजुङ तुलनात्मक रूपमा शान्त भए पनि यहाँका स्थायी बासिन्दा अन्य जिल्लामा प्रदर्शनका क्रममा घाइते भएका थिए । गृह मन्त्रालयले उनीहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहयोग वितरण गर्न निर्देशन दिएको हो ।

जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
