नेपाल हेल्थ न्युज, बाँके। बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभावका कारण सेवाप्रवाहमा समस्या देखिएको छ। विशेषगरी किमोथेरापी उपचारका लागि आउने बिरामीहरू शय्या अभावका कारण लामो समय पर्खिनुपर्ने बाध्यतामा परेका छन्।
क्यान्सर उपचारका लागि अस्पताल पुग्ने धेरै बिरामीले दिनभर पालो कुरेर पनि बेड नपाउने गुनासो गरेका छन्। नेपालगञ्ज–२१ का बिरामी डिगम्बर रानाका अनुसार बुधबार दिनभर पर्खिँदा पनि उनलाई पालो मिलेन, र बिहीबार अपराह्न मात्र किमोथेरापी गर्न पाएका थिए।
अस्पतालमा दैनिक रूपमा बिरामीको संख्या तीव्र गतिमा बढिरहेको छ। हाल उपलब्ध शय्या कम हुँदा अस्पतालले केही अवस्थामा एउटै बेडमा दुई बिरामीलाई राखेर पनि सेवा दिनुपर्ने अवस्था आएको छ।
अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार हाल अस्पतालमा करिब ५५ शय्या सञ्चालनमा छन्। तीमध्ये किमोथेरापीका लागि छुट्याइएको डे केयर वार्डमा करिब २० वटा मात्र शय्या छन्, तर दैनिक करिब ५० जना बिरामीले सो सेवा लिने गरेका छन्।
डा. गुप्ताका अनुसार पन्ध्र शय्याको नयाँ डे केयर वार्ड भवन निर्माण सम्पन्न भए पनि अहिलेसम्म अस्पताललाई हस्तान्तरण नभएकाले थप समस्या उत्पन्न भएको हो। भवन हस्तान्तरण भएपछि सेवाप्रवाह सहज हुने उनको भनाइ छ।
उनका अनुसार, किमोथेरापी क्यान्सर उपचारको एक महत्वपूर्ण प्रक्रिया हो, जसमा औषधिहरू प्रयोग गरी क्यान्सर कोषहरूको वृद्धि रोक्ने वा नष्ट गर्ने काम गरिन्छ। यो उपचार मुखमार्ग वा नशामार्फत विभिन्न तरिकाले प्रदान गरिन्छ।
पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पतालका रूपमा यो संस्था लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि प्रमुख उपचार केन्द्र बनेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले बहिरङ्ग सेवामार्फत ३६ हजार ९३२ बिरामीलाई उपचार सेवा दिएको थियो, जसमध्ये ७०८ जनाले शल्यक्रिया सेवा पाएका थिए।
फेक रेस्क्यू प्रकरण: डा. गिर्वाणराज तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
काठमाडौं विश्वकै सातौँ प्रदूषित सहरमा सूचीकृत
आइतबार, माघ २५, २०८२
नेपाल मेडिसिटी अस्पतालमा पुनः अर्को सफल कलेजो प्रत्यारोपण
आइतबार, माघ २५, २०८२
स्वास्थ्य बीमालाई राष्ट्रिय प्राथमिकताको योजना बनाउने गगन थापाको प्रतिबद्धता
आइतबार, माघ २५, २०८२
