नेपाल हेल्थ न्युज, काठमाडौं । बिरामीलाई छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सिभिल अस्पतालले नयाँ ‘द्रुत सेवा सुधार योजना’ अघि सारेको छ।
अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार, योजना अन्तर्गत अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणाली लागू गर्ने, औषधि कम्पनीका प्रतिनिधिहरूको अस्पताल प्रवेशमा रोक लगाउने र गुनासो सुन्न गुनासो पेटिका सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
उहाँका अनुसार, अस्पतालभित्र मेडिकल प्रतिनिधिहरूको भीडबारे बिरामीबाट गुनासो आएपछि प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो। “हामी बिरामीका सुविधालाई प्राथमिकता दिँदै, सेवा सहज र छरितो बनाउन व्यावहारिक सुधार गरिरहेका छौं,” उहाँले भन्नुभयो।
हाल अस्पतालमा ७५ प्रतिशत टिकट अनलाइन बुकिङबाट र २५ प्रतिशत टिकट काउन्टरमार्फत वितरण हुँदै आएको छ। साथै, अधिकांश रिपोर्ट तीन घण्टाभित्र उपलब्ध गराउने प्रणाली पनि सञ्चालनमा छ।
डा. रेग्मीका अनुसार, यस वर्षभित्रै मुटु र क्यान्सर सेवामा नयाँ कार्यक्रम सुरु गर्ने तयारी भइरहेको छ। मुटु सेवामा पहिलोपटक क्याथल्याब सेवा सञ्चालनमा ल्याइने र अर्को वर्षभित्रै मुटु शल्यक्रिया सेवा सुरु गर्ने योजना रहेको छ।
त्यस्तै, क्यान्सर सेवामा विशेष सिटिस्क्यान र नयाँ ब्राकिथेरापी सेवा सुरु गरिनेछ। यसअघि नै सञ्चालनमा रहेको लिन्याक रेडियोथेरापी सेवामा अब नयाँ प्रविधि थपिने उहाँले जानकारी दिनुभयो। अस्पतालले अन्य साना सुधारका कार्यक्रम पनि सुरु गरिसकेको र थप सुधारका लागि बजेट स्वीकृत भइसकेकाले प्रक्रिया अघि बढेको जनाएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
