नेपाल हेल्थ न्युज, बागलुङ । स्थापनाको तीन वर्षपछि बागलुङ नगर अस्पतालले स्वास्थ्य सेवामा विस्तार गरेको छ। हालै दुई जना मेडिकल अधिकृत थपिएसँगै अस्पतालले एक्सरे र भिडियो एक्सरे सेवा सुरु गरेको हो।
२०७८ असोज ८ गते बागलुङ नगरपालिका–१३ पैयुपाटास्थित स्वास्थ्य चौकीलाई १५ शय्याको नगर अस्पतालमा स्तरोन्नति गरिएको थियो। दरबन्दीअनुसार जनशक्ति र उपकरणको अभावका कारण सेवा प्रभावित हुँदै आएकोमा अहिले विस्तार हुँदै गएको हो।
अस्पतालका प्रमुख डा. सफल सापकोटाका अनुसार, पहिले प्रयोगशाला र फार्मेसी सेवा मात्र उपलब्ध थियो। अहिले दुई जना मेडिकल अधिकृत कार्यरत छन्—एक जना बागलुङ नगरपालिकाबाट र अर्को गण्डकी प्रदेश सरकारबाट। 'हामीले अहिले गर्भवती र अन्य बिरामीका लागि एक्सरे तथा भिडियो एक्सरे सेवा सुरु गरेका छौँ,' उहाँले बताउनुभयो। 'भवन निर्माण ढिलो भएकाले केही चुनौती छन्, तर सेवा विस्तार निरन्तर जारी छ। स्वास्थ्य बीमा सेवा सुरु गर्ने तयारी पनि भइरहेको छ,' उहाँको भनाइ छ।
वडा नं. १३ का वडाध्यक्ष नारायण पौडेलका अनुसार, हालसालै थप गरिएको मेडिकल अधिकृत र रेडियोग्राफरको सहायतामा एक्सरे सेवा सञ्चालनमा आएको हो।
नगर अस्पतालको भवन निर्माणका लागि स्थानीयको सहयोगमा नौ रोपनी जग्गा व्यवस्था गरी २०७८ असारदेखि करिब १८ करोड रूपैयाँ लागतमा काम थालिएको थियो। निर्माण कम्पनीले २०८३ भित्र भवन सम्पन्न गर्ने लक्ष्य लिएको छ। म्याद तेस्रो पटक २०८३ असार १९ गतेसम्म बढाइएको छ। भवन ढिलो बनेका कारण अस्पतालमा भौतिक संरचनाको अभाव कायम रहेको बताइएको छ।
आज विश्व सेप्सिस दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
आइतबार, भदौ २८, २०८३
जलनका बिरामीलाई कीर्तिपुर अस्पतालमा काठमाडौं महानगरको २ लाखसम्मको निःशुल्क उपचार
आइतबार, भदौ २८, २०८३
नुवाकोटमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
आइतबार, भदौ २८, २०८३
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
