नेपाल हेल्थ न्युज, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले अत्याधुनिक सेवा र उपकरण उपलब्ध भए पनि स्थान अभावका कारण अस्पताल विस्तारमा कठिनाइ भइरहेको जनाएको छ। सोमबार अस्पतालको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पतालको भौतिक सीमितता प्रमुख चुनौती भएको बताउनुभयो।
उहाँका अनुसार अस्पतालमा सिटी स्क्यान, सर्जरी, किमोथेरापी, रेडिएसन थेरापी, आइसियु तथा प्यालियटिभ केयरजस्ता सम्पूर्ण आधुनिक सेवा सञ्चालनमा छन्। तर, बढ्दो सेवा माग पूरा गर्नका लागि पर्याप्त ठाउँ नभएकाले भविष्यका आवश्यकता धान्न सक्ने नयाँ पूर्वाधार अत्यावश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा उहाँले चाँगुनारायण नगरपालिका–३ मा रहेको ४५ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउने प्रस्ताव नगर कार्यपालिकाले स्वीकृत गरिसकेको र सो प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो। उहाँले सो जग्गा उपलब्ध भएमा अस्पताललाई तीन सय शय्यामा विस्तार गर्दै नयाँ प्रविधि र सेवा थप्न सकिने बताउनुभयो।
अस्पतालले 'समान पहुँच, करुणा र गुणस्तरीय सेवा' भन्ने मुल नाराका साथ क्यान्सर उपचारमा सेवा दिँदै आएको छ। अत्यन्त न्यून शुल्कमा उच्च प्रविधि प्रयोग गरी उपचार उपलब्ध गराउँदै आएको अस्पतालले देशमै क्यान्सर उपचारमा महत्वपूर्ण योगदान दिइरहेको बताइएको छ। यसले विदेशमा उपचारका लागि जाने रकम देशभित्रै बचत गर्न सहयोग पुर्याएको छ।
राजधानी उपत्यकाभित्र सरकारी स्तरमा सञ्चालनमा रहेको एक मात्र क्यान्सर अस्पताल भएकाले यसको विस्तार र सुदृढीकरणका लागि मन्त्रालयको प्राथमिकता अपेक्षा गरिएको छ। अस्पतालको लक्ष्य भविष्यमा देशकै उत्कृष्ट क्यान्सर केयर सेन्टरका रूपमा विकसित हुनुका साथै नीति निर्माण, अनुसन्धान र जनचेतना क्षेत्रमा पनि अग्रसर रहने रहेको छ।
(वि.सं. २०५१) मा दुई शय्याबाट सुरु भएको सानो प्यालियटिभ केयर युनिट अहिले १५० शय्याको आधुनिक क्यान्सर अस्पतालमा रूपान्तरण भइसकेको छ।
वार्षिकोत्सवमा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले २५ वर्षदेखि सेवामा रहेका कर्मचारीलाई दीर्घ सेवापत्र र 'बेस्ट डिसिप्लिनरी अवार्ड' प्रदान गर्नुभयो। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायत अतिथिहरूले पनि शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा स्मारिकाको विमोचन समेत गरिएको थियो।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
