नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व मधुमेह दिवस । हरेक वर्षझैँ नोभम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिएको छ ।
यस वर्षको नारामार्फत ‘जीवनको हरेक चरणमा मधुमेह’ भन्दै विश्वभर मधुमेहको बढ्दो जोखिम र रोकथामबारे सचेतना फैलाउने उद्देश्य राखिएको छ ।
स्वास्थ्य विशेषज्ञहरूको भनाइमा मधुमेह केवल एक रोग मात्र होइन, दीर्घकालीन गम्भीर जटिलता निम्त्याउने खतरनाक अवस्था हो । सही उपचार र जीवनशैली नअपनाए मुटुरोग, मस्तिष्कघात, दृष्टि क्षति (अन्धोपन), मिर्गौलाले काम नगर्ने अवस्था, नसासम्बन्धी समस्या लगायत ज्यानै जोखिममा पार्ने जटिलताहरू उत्पन्न हुन्छन् ।
टाइप–२ मधुमेह रोकथाम योग्य
हाल विश्वमा सर्वाधिक भेटिने टाइप–२ मधुमेह जीवनशैलीसंगै गाँसिएको हुन्छ । चिकित्सकहरू भन्छन्— 'सन्तुलित तौल, नियमित व्यायाम र स्वस्थ आहार अपनाएर ठूलो प्रतिशतमा टाइप–२ मधुमेहको जोखिम घटाउन सकिन्छ ।'
यसै सन्देशलाई जोड दिँदै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरेको छ ।
सरकारले गरेको आव्हान
मन्त्रालयका अनुसार नियमित स्वास्थ्य परीक्षण नै दीर्घकालीन जटिलताबाट बच्ने मुख्य उपाय हो ।
सरकारले विशेषगरी निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ—
- शारीरिक तौल सन्तुलनमा राख्ने
- चिनी, नून र चिल्लो कम भएको खाना खाने
- प्रशस्त तरकारी तथा मौसमी फलफूल सेवन गर्ने
- दैनिक शारीरिक गतिविधि बढाउने
- स्वास्थ्य संस्थामा गएर नियमित मधुमेह परीक्षण, रक्तचाप मापन, मिर्गौला परीक्षण तथा बिएमआई (बडी मास इन्डेक्स) जाँच गराउने
जोखिम बढ्दै, सचेतना आवश्यक
नेपालमा मधुमेहका बिरामी द्रुत गतिले बढ्दै गएको स्वास्थ्य निर्देशनहरूले देखाएका छन्। शहरी क्षेत्रमा शारीरिक निष्क्रियता, प्रशोधित चिल्लोको उच्च सेवन र तनावका कारण मधुमेहको जोखिम अझ बढी देखिएको छ ।
स्वास्थ्यकर्मीहरू भन्छन्— ‘मधुमेहको जटिलता सुरु भएपछि उपचार खर्च मात्र होइन, जीवनको गुणस्तरमै ठूलो असर पर्छ । त्यसैले रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो ।’
अतः विश्व मधुमेह दिवस २०२५ ले व्यक्तिगत जीवनशैलीदेखि सरकारी नीतिसम्म मधुमेह व्यवस्थापनमा समन्वयको आवश्यकता औंल्याएको छ । ‘जीवनको हरेक चरणमा मधुमेह’ भन्ने नाराले बाल्यावस्था, युवावस्था र वृद्धावस्थासम्म सबै उमेरका मानिसलाई जोखिम बुझ्न र समयमै जाँच गराउन उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न सुरक्षा समन्वय समिति फेरि सक्रिय गरिने
मंगलबार, साउन १२, २०८३
बेबी पाउडर जोन्सन एन्ड जोन्सनले ट्याल्क मुद्दा मिलाउन ५.५ अर्ब डलर तिर्ने प्रस्ताव
मंगलबार, साउन १२, २०८३
लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी माग, कुन पदमा कति ?
मंगलबार, साउन १२, २०८३
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
मंगलबार, साउन १२, २०८३
