नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल न्युरोसर्जन सोसाइटीको नेतृत्व परिवर्तन भएको छ। पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा सोसाइटीका तत्कालीन अध्यक्ष डा. यामबहादुर रोकाले नयाँ अध्यक्ष डा. राजीव झालाई जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो।
डा. झा दुई वर्षअघि ‘प्रेसिडेन्ट–इलेक्ट’का रूपमा चयन हुनुभएको थियो र अब उहाँले आगामी दुई वर्ष सोसाइटीको नेतृत्व सम्हाल्नुने छ। सोसाइटीका अन्य पदाधिकारीहरूको चुनाव भने २९ नोभेम्बरमा तय भएको छ।
यस वर्षको सम्मेलनमा नेपालका चिकित्सकसँगै अमेरिका, क्यानडा, जापान, चीन, बंगलादेश, भारत, फिलिपिन्स, श्रीलंका, माल्दिभ्स र पाकिस्तानलगायतका देशबाट २३५ भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए। यसमध्ये ५५ जनाभन्दा बढी वरिष्ठ विदेशी न्युरोसर्जनसमेत सहभागी भएका थिए। कार्यक्रममा विभिन्न विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।
सन् २००८ मा स्थापना भएको नेपाल न्युरोसर्जन सोसाइटी न्युरोसर्जनहरूको पेसागत संस्था हो। संस्थापक अध्यक्ष दिवंगत डा. उपेन्द्र देवकोटाको समयदेखि सुरु भएको यो संस्था आज १४० जना सदस्यसहित सुदृढ बनेको छ।
सोसाइटीले नियमित रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्रत्येक महिना कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई)आयोजना गर्ने परम्परा छ र वर्षमा १२ वटा (सीएमई) काठमाडौँ तथा बाहिरी जिल्लाका अस्पतालहरूमा सञ्चालन गरिन्छ। साथै, नयाँ पुस्ताका न्युरोसर्जनका लागि छात्रवृत्ति, पुरस्कार तथा अन्तर्राष्ट्रिय तालिमको व्यवस्था पनि छ।
नयाँ अध्यक्ष डा. झा न्याम्सको न्युरोसर्जरी विभागका प्रमुख समेत हुनुहुन्छ। उहाँले सरकारी अस्पतालमा न्युरोसर्जनको अभावलाई समाधान गर्दै जनस्वास्थ्यमा न्युरोसर्जरी सेवा विस्तार गर्ने लक्ष्य प्रस्तुत गरेका गर्नुभएको छ। उहाँका अनुसार, 'सरकारी अस्पतालमा न्युरोसर्जनको उपस्थिति अत्यन्त न्यून छ, प्रत्येक अस्पतालमा कम्तीमा २–३ विशेषज्ञ आवश्यक हुन्छ।'
उहाँको कार्ययोजनामा बिरामी सुरक्षा प्राथमिकता रहने, चेकलिस्ट तथा गाइडलाइनलाई प्रभावकारी बनाउने, युवा चिकित्सकलाई अन्तर्राष्ट्रिय फेलोसिप र वर्कसपमा पठाउने तथा नैतिक उपचार अभ्यासको अनुगमन गर्ने जस्ता योजनाहरू समावेश छन्।सोसाइटीले सदस्यहरूको पेशागत समस्या समाधान गर्दै राष्ट्रव्यापी न्युरोसर्जरी सेवा अझ सबल बनाउने उद्देश्य अघि सारेको छ।
काठमाडौं महानगरले साँघुरा सडकका लागि ‘बाइक एम्बुलेन्स’ सेवा ल्याउने तयारी
आइतबार, जेठ ३१, २०८३
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
आइतबार, जेठ ३१, २०८३
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
आइतबार, जेठ ३१, २०८३
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३

