नेपाल हेल्थ न्युज, सुर्खेत । कर्णाली प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिले आइतबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको वर्तमान सेवा–सुविधा, संरचनात्मक अवस्था र जनशक्ति व्यवस्थापनको विषयमा विस्तृत छलफल गरेको छ। बैठक वीरेन्द्रनगरमा बसेको थियो, जहाँ प्रदेश सरकारका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकाय सहभागी थिए।
समितिको अघिल्लो बैठक (कात्तिक २२) मा सम्बन्धित निकायलाई बोलाएर समस्या–विस्तारमा चर्चा गर्ने निर्णय गरिएकै आधारमा उक्त छलफल आयोजना गरिएको हो। बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक भर्ना गर्न निकै कठिनाइ आइरहेको बताउनुभयो।
उहाँका अनुसार, कर्णालीको भौगोलिक चुनौती र वास्तविकताले विशेषज्ञ चिकित्सक प्रदेशमा आउन इच्छा नदेखाउने अवस्था बनाइरहेको छ। उहाँले भन्नुभयो, 'सरकारले छात्रवृत्ति र करारमार्फत चिकित्सक गाउँ–गाउँ पठाउने प्रयास हुँदा पनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहका चिकित्सक ल्याउन निकै जटिल छ।'
मन्त्री भण्डारीले स्वास्थ्य क्षेत्र पछिल्ला वर्षमा प्राथमिकतामा पर्न नसकेको र कोभिड–१९ पछिदेखि बजेट स्रोत नै घटिरहेको भएकाले प्रभाव देखिएको उल्लेख गर्नुभयो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव तथा व्यवस्थापनका केही कमजोरीहरू अझै समाधान हुन बाँकी रहेको बताउनुभयो। उहाँले भन्नुुभयो, 'स्वीकृत १५० शय्याको अस्पताल भए पनि अहिले करिब ३०० शय्या बराबरको सेवा दिनुपरेको छ। विशेषज्ञ सेवा ९१ जना चिकित्सकबाट भइरहेको भए पनि आवश्यक जनशक्ति कभर गर्न बजेट अपुग छ।'
त्यसैगरी, अस्पतालका निर्देशक डा. गणेश थापाले विशेषज्ञ चिकित्सकको अभाव अझै गम्भीर रहेको उल्लेख गर्दै आवश्यक ३७ जनामध्ये १९ जनाबाट मात्र सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो। साथै, अस्पतालमा चाररपाँच हजार केभिए क्षमताको विद्युत् आवश्यक भए पनि हाल उपलब्ध लोड एक हजार केभिए मात्र भएकाले सेवा प्रवाह प्रभावित हुने गरेको बताउनुभयो।
समितिका सभापति पूर्णबहादुर खत्रीका अनुसार, बैठकले प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्ति, कार्यदक्षता, सेवामा देखिने ढिलाइका कारण तथा सुधारका उपायबारे विस्तृत छलफल गरेको छ।
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३

