नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठनले सिंहदरबारभित्र निर्माण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ प्रिफ्याब भवन बुधबार मन्त्रालयलाई हस्तान्तरण गरेको छ। सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा, नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्रमा यो भवन निर्माण गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र मन्त्रालयका कर्मचारीहरू उपस्थित थिए। भवन हस्तान्तरणसँगै, स्वास्थ्य मन्त्रालयका कर्मचारी र सेवाहरू आजैदेखि सिंहदरबारभित्रको नयाँ भवनबाट काम सुरु गर्न लागेका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आइतबारसम्ममा अधिकांश सेवाहरू नयाँ स्थानबाट उपलब्ध हुनेछन्।
नवनिर्मित भवन सिंहदरबारभित्र सर्वोच्च अदालतको वर्तमान भवनको पूर्वपट्टीमा रहेको छ। सिंहदरबारको दक्षिण गेटतर्फ जाने क्रममा नरसिंह दल भित्र जाने गेट बन्द हुनेछ र कर्मचारी तथा सेवाग्राहीहरूलाई अन्य गेटमार्फत प्रवेश गर्नुपर्नेछ।
सेनाले प्रधानमन्त्री कार्यालय नजिक सरेपछि खाली भएको उक्त क्षेत्रको जग्गा स्वास्थ्य मन्त्रालयका लागि छुट्याइएको थियो। विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा यस क्षेत्रमा उपयुक्त प्रिफ्याब भवन निर्माण गरिएको हो। केही भवनहरू मर्मतसम्भारपछि प्रयोगमा आउनेछन्।
यो कदम, भदौ २४ गते भएको जेनजी आन्दोलनपछि रामशाह पथस्थित पुरानो स्वास्थ्य मन्त्रालयको भवन जलेर नष्ट भएको अवस्थापछि आवश्यक भएको थियो। तत्कालीन अवस्थामा मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ भवनमा सरेको थियो, तर अब सिंहदरबारभित्र स्थायी स्थानमा सरेको हो।

बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

