नेभिगेशन

नाकको अप्रेसन गर्दा नोबेल अस्पतालमा बालकले गुमाए दृष्टि

नेपाल हेल्थ न्युज, विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरमा सामान्य नाकसम्बन्धी शल्यक्रिया गरिएका एक ७ वर्षीय बालकले दाहिने आँखाको ज्योति गुमाएपछि परिवारले उपचार प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। इटहरी उपमहानगरपालिका–१ का जेनिश पाठक नाकभित्र बढेको मासु हटाउन भर्ना गरिएको थिए।

परिवारका अनुसार ५ मंसिरमा गरिएको शल्यक्रियापछिको भोलिपल्टै अस्पतालले बालकलाई हतारमा डिस्चार्ज गर्यो। डिस्चार्जपछि उनको दाहिने आँखाको आकार भित्रिएको देखिएपछि परिवारले तुरुन्तै विराटनगर आँखा अस्पतालमा लगेका थिए।

आँखा अस्पतालः ‘ज्योति फर्कने सम्भावना अत्यन्त कम’

विराटनगर आँखा अस्पतालका विशेषज्ञहरूले जेनिशको दाहिने आँखाको भित्री भाग गम्भीर रूपमा क्षतिग्रस्त भइसकेकाले दृष्टि फर्कने सम्भावना अत्यन्त न्यून रहेको निष्कर्ष निकाले। चिकित्सकका अनुसार शल्यक्रियाका क्रममा आँखासम्बन्धी हड्डी क्षतिग्रस्त हुँदा यस्तो अवस्था आएको हो।

परिवारको आरोपः ‘अनुभवी डाक्टर भन्दै प्रशिक्षार्थी खटाइयो’

बालकका मामा श्रीकृष्ण प्रसाईंले शल्यक्रियामै गम्भीर लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन्।
उनको भनाइमा, 'डिपार्टमेन्ट हेडले अप्रेसन गर्ने भनिएको थियो, तर पछि थाहा पाएका छौँ — सर्जरी सिकारु डाक्टरले गरेका रहेछन्।'

प्रशासन र प्रहरीद्वारा छानबिन

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार उजुरीपछि घटनाको प्रारम्भिक छानबिनका लागि फाइल जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।
'घटना गम्भीर प्रकृतिको भएकोले विस्तृत छानबिनपछि मेडिकल काउन्सिलसमेत समन्वय गरी आवश्यक कारबाही हुन्छ,' उनले बताए।

चिकित्सकको स्पष्टीकरण

उपचारमा संलग्न डा. प्रज्वल श्रेष्ठले नाकको भित्री भागमा रहेको समस्या आँखासम्म पुगेको कारण शल्यक्रियादरम्यान हड्डी निकाल्नुपरेको र त्यही क्रममा आँखाको भाग एक्सपोज भएर चोट लागेको स्वीकार गरेका छन्। तर उनले यो ‘लापरबाही होइन, शल्यक्रियामा सम्भावित दुर्लभ जटिलता’ भएको बताए।

अन्य विशेषज्ञहरूको सम्भावित लापरबाही संकेत

यो घटना बारे बुझिएका एक चिकित्सकले सर्जरीअघि हुने जोखिम मूल्यांकन र सतर्कता पर्याप्त थिएन भन्ने टिप्पणी गरेका छन्।
'नाकदेखि आँखासम्म फैलिएको समस्या भएमा विशेष सावधानीका साथ शल्यक्रिया तयारी हुनुपर्थ्यो,' उनको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट