नेभिगेशन

बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्क्सको सेवन गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायत स्वास्थ्य समस्या भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यस्ता पेय पदार्थबाट टाढा रहन विभागले सुझाव दिएको छ।

इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे जानकारी दिँदै विभागले स्वस्थ वयस्कले समेत यसको मात्रा सीमित गर्नुपर्ने जनाएको छ। विभागको सुझावअनुसार सेवन गर्न उपयुक्त व्यक्तिले पनि एक दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिङ्क्स पिउनु हुँदैन।

विभागका अनुसार नेपालमा १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन्। उत्पादनको लेबल र प्रयोगशाला परीक्षणबाट प्राप्त विवरणअनुसार नेपालमा उत्पादित यस्ता पेय पदार्थको एक क्यानमा करिब १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरण (इएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि दैनिक सबै स्रोतबाट प्राप्त हुने क्याफिनको कुल मात्रा ४०० मिलिग्रामसम्म सीमित राख्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्। विभागले नेपाली बजारमा उपलब्ध इनर्जी ड्रिङ्क्समा रहेको क्याफिनको मात्रा उक्त सीमाको तुलनामा कम रहेको उल्लेख गरेको छ। यद्यपि, कफी, चिया तथा अन्य क्याफिनयुक्त पदार्थको सेवनलाई समेत ध्यान दिनुपर्ने हुन्छ।

इनर्जी ड्रिङ्क्सलाई पानी, दूध, जुस वा मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न पनि विभागले उपभोक्तालाई सचेत गराएको छ। यस्ता पेय पदार्थलाई अन्य पेयमा मिसाएर सेवन नगर्नसमेत सुझाव दिइएको छ।

यसैगरी, इनर्जी ड्रिङ्क्सका उत्पादक तथा विक्रेतालाई कानुनी प्रावधानअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले निर्देशनात्मक आग्रह गरेको छ। उत्पादनको लेबलमा उल्लेख गर्नुपर्ने चेतावनी र सुरक्षित सेवनसम्बन्धी जानकारी उपभोक्ताले सहजै बुझ्ने गरी स्पष्ट राख्नुपर्नेमा पनि विभागले जोड दिएको छ।

खाद्य पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न वैज्ञानिक तथ्य तथा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा उपभोक्तालाई सही सूचना उपलब्ध गराउन विभागले सरोकारवालालाई आग्रह गरेको छ। साथै, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट