नेभिगेशन

विशेषज्ञ चिकित्सक अभावले बेनी अस्पतालमा शल्यक्रिया सेवा ठप्प

नेपाल हेल्थ न्युज,  म्याग्दी । म्याग्दी सदरमुकाम बेनीस्थित प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सक अभाव भएपछि पछिल्ला केही हप्तादेखि शल्यक्रिया सेवा बन्द भएको छ। ५० शय्याको क्षमताको यस अस्पतालमा ‘हाइड्रोसिल’, ‘हर्निया’ र ‘एपेन्डिसाइटिस’ जस्ता सामान्य शल्यक्रिया समेत रोकिएपछि बिरामी अन्य जिल्लाका अस्पताल धाउन बाध्य भएका छन्।

शल्यक्रिया विभागमा कार्यरत डा. अशोक पन्तले मंसिर १ गतेदेखि राजीनामा दिएर पद त्यागेपछि सेवा अवरुद्ध भएको हो। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आवश्यकीय विशेषज्ञ चिकित्सक समयमै पठाउन नसक्दा समस्या उब्जिएको अस्पताल व्यवस्थापनले जनाएको छ।

यसअघि १५ कात्तिकदेखि बन्द भएको सिझेरियन (शल्यक्रियामार्फत हुने प्रसूति) सेवा पनि अझै पुनःसञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ। करारमा रहेका चिकित्सक सरोज यादवले राजीनामा दिएपछि सुत्केरी सेवाका लागि बागलुङ वा पोखरा जानुपर्ने बाध्यता झन् बढेको छ।

स्थानीय बासिन्दा दिनेश ढुङ्गानाका अनुसार विशेषज्ञ नहुँदा प्रदेश सरकारले सामान्य सेवासमेत सुनिश्चित गर्न नसकिरहेको गुनासो बढ्दो छ। यसले म्याग्दीका साथै मुस्ताङ, पर्वतका केही स्थानीय तह र बागलुङको तमानखोलाका नागरिकलाई प्रत्यक्ष असर परेको छ।

म्याग्दी–१(क) का गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्वास्थ्य मन्त्रालयलाई बारम्बार अनुरोध गरे पनि चिकित्सक खटाइने प्रक्रिया ढिलो भएको बताउनुभयो।

गतमहिनादेखि गण्डकी प्रदेश सरकार मातहतका अस्पतालहरू नेतृत्वविहीन बनेका छन्। संयोजक समिति प्रमुखलाई अस्पताल व्यवस्थापन समिति अध्यक्ष बनाउने व्यवस्था खारेज भएसँगै नयाँ संरचना नबनेपछि सञ्चालन पक्षमै समस्या देखिएको छ।

हाल बेनी अस्पतालमा सामान्य तथा बाह्य उपचारसँगै दन्त, आँखा, हाडजोर्नी, मनोसामाजिक परामर्श, डायलाइसिस लगायतका सेवा भने जारी छन्। अस्पतालका निमित्त प्रमुख डा. रामु सापकोटाका अनुसार वार्षिक करिब ६० हजार बिरामी सेवाग्राहीमध्ये धेरैलाई शल्यक्रिया सेवा ठप्प हुँदा समस्या परेको छ।

२०७४ सालमा सुरु भएको अस्पताल भवन निर्माण अलपत्र हुनु र दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नपुगेको अवस्था यहाँको सबैभन्दा ठूलो चुनौती रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट