नेभिगेशन

अस्पताल सुधारमा प्रणाली र कर्मचारीको प्रभावकारिता आवश्यक: स्वास्थ्य मन्त्री गौतम

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको स्वास्थ्य प्रणालीले महत्वपूर्ण प्रगति गरेको भए पनि आन्तरिक कमजोरी हटाउन सबै तहबाट थप प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ।

नेशनल ज्वाइन्ट एनुअल रिभ्युमा मन्त्री गौतमले स्वास्थ्य क्षेत्रमा कर्मचारीको क्षमता, अध्ययन, र तालिम पर्याप्त भए पनि त्यसको प्रभावकारी प्रयोग हुन नसकेको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘स्रोत–साधनको प्रयोगमा अझै सुधार गर्नुपर्ने छ, र हरेक घटना व्यवस्थापनबाट सिक्ने अवसर लिनुपर्छ।’

मन्त्रीले अस्पतालहरूमा उपचारका क्रममा हुने त्रुटि सामान्य भए पनि हरेक घटनाको कारण गहिरोसँग पत्ता लगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले समयमै उपचार नपुग्दा, आवश्यक कदम नउठ्दा वा सानो गल्तीले पनि गम्भीर परिणाम आउन सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले अझ जिम्मेवार र सचेत हुनुपर्ने बताउनुभयो।

उहाँले थप्नुभयो कि स्वास्थ्य सेवा सुधार, भ्रष्टाचार न्यूनीकरण र वेथितिको अन्त्य सरकारको स्पष्ट म्यान्डेट भएको छ। ‘कर्मचारीहरूको तालिम राम्रो छ, तर कामको प्रभावकारिता पर्याप्त छैन। आफ्नो प्रदर्शनको मूल्याङ्कन इमान्दारीपूर्वक गर्नुपर्छ,’ उहाँले भन्नुभयो।

अस्पताल निर्देशकहरूलाई सम्बोधन गर्दै मन्त्री गौतमले सेवाग्राहीको गुनासो र झमेलाको स्तर घटाइएको प्रगति कति भयो भनी प्रश्न गर्नुभयो। उहाँले सामाजिक सञ्जालमार्फत दैनिक ५०–७० सुझाव र गुनासो प्राप्त हुने भन्दै, स्वास्थ्यकर्मीहरूले क्षमताको पूर्ण प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट