नेपाल हेल्थ न्युज, मुस्ताङ । मुस्ताङमा चिसो बढेसँगै बालबालिका तथा ज्येष्ठ नागरिक स्वास्थ्य समस्याबाट प्रभावित हुन थालेका छन्। तापक्रम तीव्र रुपमा घटेपछि रुघाखोकी, निमोनिया तथा स्वासप्रश्वाससम्बन्धी जटिलताका बिरामी बढेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्।
प्रादेशिक अस्पताल जोमसोमका अनुसार पछिल्ला दिनमा चिसोका कारण स्वास्थ्य समस्याका बिरामी भर्ना हुने संख्या उल्लेख्य रुपमा बढेको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. समीक्षा कँडेलका अनुसार अस्पतालमा उपचार लिन आउनेमध्ये ठूलो हिस्सामा बालबालिका छन्। भर्ना भएका बिरामीमध्ये करिब ८० प्रतिशत १० वर्षभन्दा कम उमेरका छन्।
अस्पतालका तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म बहिरंग सेवामा हजारौँले उपचार लिएको छ भने सोही अवधिमा भर्ना हुनेको संख्या पनि निरन्तर बढेको छ। मंसिर १५ सम्म आइपुग्दा २८ जना बिरामी भर्ना भइसकेका अस्पतालले जनाएको छ। पन्ध्र श्ययाको अस्पतालमा चिसो बढेसँगै सेवा प्रभावित हुनुका साथै बेड अभावसमेत देखिएको छ।
डा. कँडेलका अनुसार बालबालिकामा रुघाखोकी, ज्वरो, छाती घरघराउने, स्वास फेर्न गाह्रो हुने जस्ता लक्षण बढी देखिन थालेका छन्। यस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन पनि उनले सुझाव दिए।
अस्पतालको तथ्याङ्कले साउनयता बालबालिका भर्ना हुने दर करिब ७० प्रतिशतले बढेको देखाएको छ। चिसोबाट जोगिन हिटर, गिजर, दाउरा वा कोइला बाल्दा पर्याप्त हावा आवतजावत हुनेगरी ‘भेन्टिलेसन’ खुला राख्न तथा तातोपानी, झोलिलो र पौष्टिक खानेकुरा सेवन गर्न चिकित्सकले आग्रह गरेका छन्।
यता, अत्यधिक चिसो बढेपछि माथिल्लो मुस्ताङका धेरै शैक्षिक संस्था जाडो छल्नका लागि बेँसी झरेका छन्। तर बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालयहरू भने सामान्यरूपमा सञ्चालनमै रहेका छन्।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
