नेपाल हेल्थ न्युज, भक्तपुर । बागमती प्रदेश सरकार किशोर तथा किशोरीको यौन र प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित अभ्यासलाई प्रवर्द्धन गर्न यस वर्षदेखि ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने तयारीमा जुटेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले यो कार्यक्रमलाई प्रारम्भिक चरणमा नमूना परियोजनाका रूपमा अघि बढाउने जनाएको छ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आज आयोजित पत्रकार भेटघाटमा अहिले किशोर किशोरीबीच असुरक्षित यौन व्यवहार, अनियोजित गर्भपतन तथा यौनजन्य रोगको जोखिम बढ्दो अवस्थामा रहेको भन्दै समयअनुसारको व्यवहारिक शिक्षाका लागि डिजिटल पार्कको अवधारणा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार, स्थानीय तहहरूसँगको सहकार्यमा यस वर्षभित्रै परियोजना कार्यान्वयनमा आउनेछ।
मन्त्री थापाका अनुसार डिजिटल पार्कमा किशोर किशोरीलाई आवश्यक पर्ने विभिन्न विषयमा जस्तै यौवनावस्थामा देखिने शारीरिक परिवर्तन, रजस्वला र सरसफाइ, बालविवाह, लैंगिक हिंसा, सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपानरमद्यपानका असर विषयमा विशेषज्ञद्वारा तयार गरिएका पडकास्ट तथा डिजिटल सामग्री उपलब्ध गराइनेछ। यी सामग्रीहरू पार्कमा राखिने डिजिटल बोर्ड तथा विभिन्न माध्यममार्फत प्रसारण गरिने छन्।
यस परियोजनालाई देशमै पहिलोपटक कार्यक्रमका रूपमा अघि ल्याइएको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो। उहाँले यसले किशोर किशोरीको मानसिक, शारीरिक विकाससँगै व्यवहार परिवर्तनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र झाका अनुसार पार्कमा डिजिटल सूचना पहुँचका लागि छुट्टै कोठा, हल, डिस्प्ले बोर्ड, पोस्टर वाल, ‘एडलोसेन्ट हेल्थ रूम’ लगायत आवश्यक संरचना निर्माण गरिनेछ। साथै, एनिमेटेड भिडियो, इन्फोग्राफिक्स, बृत्तचित्र तथा छोटा संदेशमूलक भिडियो तयार गरी निरन्तर प्रसारण गरिने उहाँले बताउनुभयो।
उन्नत उपकरण तथा प्रविधि जस्तै स्मार्ट टिभी, डिजिटल स्क्रिन, यूपिएस, इन्टरनेट सेवा र प्रतिक्रिया संकलनका लागि क्यूआर कोड प्रणाली समेत पार्कमा स्थापना गरिने योजना छ।
कार्यक्रमका लागि मन्त्रालयले २५ लाख रुपैयाँ विनियोजन गरेको छ। प्रारम्भिक चरणमा किशोर–किशोरी धेरै आउने चिडियाखाना, त्रिभुवन पार्क, फन पार्कजस्ता स्थानमध्ये हेटौडा वा काठमाडौं उपत्यकाभित्रको कुनै एक पालिकामा पार्क स्थापना गर्नेबारे छलफल भइरहेको निर्देशक झाले बताउनुभयो।
त्रिवि शिक्षण अस्पतालको नेतृत्वमा दुई उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
एसइईपछि पिसिएल नर्सिङ पुनः सञ्चालन गर्न सरकारको तयारी: मन्त्री गौतम
आइतबार, मंसिर २१, २०८२
नर्सका मागबारे कार्यदलमा विवाद, हस्ताक्षर नआएपछि बहुमतको प्रतिवेदन पास गर्ने तयारी
आइतबार, मंसिर २१, २०८२
यूएसएआईडी बन्द भएपछि नेपालमा पोषण संकट बढ्दैः दशकौंको प्रगति जोखिममा
आइतबार, मंसिर २१, २०८२
