नेभिगेशन

आठ स्वास्थ्य संस्थाबाट अब स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा

नेपाल हेल्थ न्युज,  काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा दिने अस्पतालको संख्या आठ पुगेको छ। आइतबारदेखि मण्डनदेउपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले सेवा सुरु गरेपछि जिल्ला–भरका आठ स्वास्थ्य संस्थाबाट बीमाको पहिलो सेवा उपलब्ध भएको हो।

यो अस्पतालले साउनको अन्त्यतिर स्वास्थ्य बीमा बोर्डमा आवद्ध भई प्रथम सेवा केन्द्रका रूपमा स्वीकृति पाएको थियो, जसको औपचारिक उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गर्नुभएको हो ।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले नगरपालिकामा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक तयारी पूरा गरेर अहिलेबाट नियमित सेवा सञ्चालनमा ल्याएको बताउनुभयो। उहाँका अनुसार नगर क्षेत्रका करिब ६५ प्रतिशत बासिन्दाले स्वास्थ्य बीमा गराइसकेका छन्।

यसअघि सुन्थान, खोपासी, पाँचखाल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रहरू, बनेपा नगर अस्पताल तथा मेथिनकोट प्रादेशिक अस्पतालबाट बीमाको सेवा दिइँदै आइसकेको थियो। धुलिखेल नगरपालिकाले भने आफ्नै स्वास्थ्य केन्द्र भवनमा पूर्वाधार र जनशक्ति अभाव भएपछि साउन २६ गतेदेखि धुलिखेल अस्पताल परिसरमै बीमा सेवा सञ्चालनमा ल्याएको छ। चिकित्सक, नर्स र औषधिसहित ‘रिफरल’ सेवा अस्पतालकै भवनबाट दिइँदा बीमाधारकलाई सहज हुने नगरपालिकाको भनाइ छ।

सरकारले साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थालाई नै बीमाको प्रथम सेवा विन्दु बनाउने व्यवस्था लागू गरेको थियो। विसं २०७६ मंसिर १ मा सूचीबद्ध चार संस्थामध्ये पहिल्यैदेखि मेथिनकोट अस्पताल, सुन्थान र खोपासी स्वास्थ्य केन्द्रले मात्र सेवा दिइरहेका थिए, तर नयाँ व्यवस्थासँगै अन्य संस्थाहरूले पनि सेवा विस्तार गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट