नेपाल हेल्थ न्युज, बागलुङ । बागलुङ जिल्लामा हालसम्म १९ जना बालबालिका एचआईभी संक्रमित भएको पाइएको छ। जिल्लामा नियमित रूपमा उपचार तथा औषधि सेवन गर्दै आएका कुल २१५ संक्रमितमध्ये यी बालबालिका पनि समावेश छन्।
करिब १५ वर्षअघि एचआईभी संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–स्थित एक महिलाले समाजमा संक्रमितप्रति हुने दृष्टिकोण अझै परिवर्तन नभएको बताइन्। आफू सामान्य जीवनयापन गर्न चाहे पनि परिवार र आफूप्रति हुने सामाजिक व्यवहारका कारण खुलेर बस्न कठिन भएको उनले सुनाइन्।
उनका अनुसार, ‘संक्रमित भएकै कारण विद्यालयदेखि समाजसम्म विभिन्न प्रकारका टिप्पणी र हेला व्यहोर्नुपर्ने हुँदा परिवारले पनि खुल्न नदिने सल्लाह गर्छ।’
संक्रमित बालबालिकाले पनि विद्यालयमा विभेद र टिप्पणी सहनुपर्ने गुनासो परिवारसँग राख्ने गरेका छन्। पछिल्ला वर्षमा परीक्षण तथा उपचारका लागि सम्पर्कमा आउने संक्रमितहरूको सङ्ख्या बढ्दो भए पनि समाजमा खुला रूपमा आउन चाहनेहरू भने कमै छन्।
धौलागिरी प्रादेशिक अस्पतालको एआरटी ( एन्टी रेक्टो ट्रिटमेन्ट) केन्द्र तथा एचआईभी एड्स सम्बन्धी विभिन्न संस्थाबीच सहकार्य बढेसँगै संक्रमितहरू स्वास्थ्य सेवामा जोडिन थालेका छन्। तर, सामाजिक कलंकका कारण धेरैजना आफू पहिचान खुलाउन अझै अनिच्छुक रहेको स्वास्थ्यकर्मी बताउँछन्।
२०६३ सालदेखि सञ्चालनमा रहेको एआरटी केन्द्रले परीक्षण, परामर्श, नियमित औषधि वितरण र गोपनीयतासहितको सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य कार्यालय बागलुङका अनुसार १९ बालबालिकासहित २१५ संक्रमित नियमित औषधि सेवन गरिरहेका छन्। गत आर्थिक वर्षमा १० जना र चालु वर्षमा थप ७ जना नयाँ संक्रमित फेला परेका छन्।
संक्रमितहरूको भनाइमा सामाजिक विभेद र गलत धारणाका कारण उनीहरू खुलेर बस्न नसक्ने अवस्था छ। कार्यालयका प्रमुख प्रविण शर्माले संक्रमितलाई गोप्य रूपमा औषधि तथा परामर्श सेवा उपलब्ध गराइँदै आएको बताए।
जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार परीक्षण र परामर्शको दायरा बढेसँगै संक्रमणको तथ्याङ्क पनि क्रमशः बढ्दो छ।एआरटी केन्द्रका प्रमुख परामर्शदाता प्रदीप आचार्यका अनुसार एचआईभी संक्रमितलाई सामान्य नागरिकसरह जीवनयापन गर्न सघाउने उद्देश्यले फिल्डमा पुगेर गोप्य रूपमा नमूना संकलन, उपचार र परामर्श प्रदान गर्दा धेरै संक्रमित सेवामा जोडिन थालेका छन्।
त्यसका अतिरिक्त, विभिन्न गैरसरकारी संस्थाको सहकार्यमा बाटो खर्च, पोषण सहयोग, नियमित परामर्श तथा औषधि उपचारसहितका सेवा संक्रमितलाई उपलब्ध गराइँदै आएको केन्द्रले जनाएको छ।
झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
सोमबार, मंसिर २२, २०८२
चिकित्सकको लापरबाही, नाकको शल्यक्रिया गर्दा आँखा नै गुम्यो
सोमबार, मंसिर २२, २०८२
आठ स्वास्थ्य संस्थाबाट अब स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा
सोमबार, मंसिर २२, २०८२
मेडिकल काउन्सिलको सदस्य पदमा डा. गोपालकुमार चौधरी नियुक्त
सोमबार, मंसिर २२, २०८२
