नेभिगेशन

चिकित्सक संघको अध्यक्षमा डा. रिजाल र डा. रावलबीच मुख्य प्रतिस्पर्धा

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको आउँदो निर्वाचनमा अध्यक्ष पदका लागि दुई प्रमुख उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। हालसम्मको राजनीतिक समीकरण अनुसार डा. बद्री रिजाल र डा. मंगल रावलबीच मुख्य टक्कर हुने अनुमान गरिएको छ।

बुधबारबाट केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै अध्यक्षसहित अन्य पदमा को–को उम्मेदवार रहने भन्ने विषय अझ स्पष्ट हुँदै जाने संघ स्रोतले जनाएको छ।

प्रजातन्त्रवादी चिकित्सक समूहको नेतृत्व गर्दै डा. बद्री रिजाल निर्वाचन मैदानमा उत्रिने निश्चित भएको छ। यसअघि नै प्रगतिशील समूहका तर्फबाट डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

हाल संघका वरिष्ठ उपाध्यक्ष रहेका डा. रिजालले आफ्नो नेतृत्वमा टिम बनाएर निर्वाचनमा जाने जानकारी दिएका छन्। उनका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका उम्मेदवार लगभग टुंगो लागिसकेको छ भने अन्य पदका लागि छलफल जारी छ।

संघका वर्तमान महासचिव डा. सचिव तिवारी वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा छन्। यस्तै, अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका डा. विश्वराज दवाडीले महासचिव पदका लागि उम्मेदवारी दिने भएका छन् भने डा. समित आचार्य कोषाध्यक्ष पदका उम्मेदवार बन्ने भएका छन्।

अध्यक्ष पदका अर्का उम्मेदवार डा. मंगल रावलले भने आफूहरू कुनै दलको प्रतिनिधित्व नगरी कार्यक्षमताका आधारमा उम्मेदवार चयन गरेर टिम बनाउने प्रयासमा रहेको बताएका छन्।

संघले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार नेपाल चिकित्सक संघमा कुल १६ हजार १०० मतदाता रहेका छन्। केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूले बुधबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गराउन सक्नेछन्।

निर्वाचन तालिका अनुसार काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुने छ भने उपत्यका बाहिर माघ २ र ३ गते मतदान हुने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट